इटहरी । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो शीतभण्डार प्रयोगविहीन बनेको हो । सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार राईले सो शीत भण्डार सञ्चालन नभएकाले उत्पादित किबी भण्डारण गरेर राख्न नसकेको गुनासो गर्नुभयो ।  शीत भण्डार सञ्चालन गर्न सकिएमा यहाँ उत्पादिन फलफूल र तरकारीले राम्रो मूल्य पाउने उहाँको भनाइ छ । शीत भण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित तरकारी तथा फलफुल महँगोमा झापा, मोरङलगायतका जिल्लामा लगेर भण्डारण गर्नुपर्ने बाध्यता छ । आफ्नो उत्पादन सस्तोमा बेच्नुपर्दा कृषिप्रति निरुत्साहित हुने गरेको इलाम नगरपालिका–८ का किसान उमेशचन्द्र महतको गुनासो छ । इलाम नगरपालिकाले पटकपटक प्रयास गरे पनि शीत भण्डारसञ्चालनमा ल्याउन नसकिएको जनाएको छ । २० लाख किलोग्राम क्षमताको शीत भण्डार निर्माण गर्दा डिजाइनमा त्रुटि भएका कारण सञ्चालन गर्न नसकिएको नगरपालिकाको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले अहिलेको प्रविधि अनुसारको संरचना नभएकाले सञ्चालन गर्न नसकिएको बताउनुभयो । शीतभण्डार सञ्चालनमा ल्याउन यसलाई फरक तापक्रममा विभिन्न वस्तु राख्न मिल्ने ‘मल्टी च्याम्बर’ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । रु। पाँच करोड ४९ लाख ६७ हजार ६४६ मा २०६८ सालमा निर्माण गरिएको थियो । भारत सरकारको रु। चार करोड ३९ लाख तीन हजार ८०८, नेपाल सरकारको रु। ६७ लाख ५८ हजार ५४६ र इलाम नगरपालिकाको रु। ४३ लाख पाँच हजार २९२ को लागतमा सो शीतभण्डार निर्माण गरिएको थियो ।