इटहरी । घरसँगैको बारीमा धान खेती हुँदैन । अलि डाँडो बारी भएकाले पहिले १६ कट्ठा बारीमा उखु थियो । उखुलाई स्याहार बढी चाहिने तर गाउँमा कृषि मजदुरको अभाव हुने । त्यसैले लक्ष्मीप्रसाद दुलालले उखु मासेर सुपारी रोप्नुभयो अनि सुपारी रोपेको दुई वर्षपछि मरीच । त्यसको १६ महिनापछि तिनै सुपारीका बिच बिचमा सिउँडी फल (ड्र्यागन फ्रुट) लगाउनुभएको छ । यसरी उहाँको बारीमा अहिले तीन तहका नगदेबाली छन्, नेपालको सङ्घीय संरचना जस्तै । त्यसको आम्दानी बेग्लाबेग्लै सिजनमा आउँछ । अहिले ड्र्यागन फलको पालो छ । त्यो सकिनेबित्तिकै सुपारीले आम्दानी दिन्छ अनि मरीच निस्किन्छ । लगनशील भएर काम गर्ने हो भने थोरै जमिनमा कम मेहनतबाट वैदेशिक रोजगारीभन्दा राम्रो कमाइ लिन मोरङको पथरीशनिश्चरे–१० का किसान लक्ष्मीप्रसाद दुलाल सफल बन्नुभएको छ । सुरुका दिनमा भने उहाँको सबै बाली जुवा खेलाइ जस्तै थियो ।

दुई दशकअघिसम्म युट्युब, फेसबुकमा कृषि प्रविधिका विषय अध्ययन गर्न सकिँदैन थियो । नफले थोरै लगानी खेर जाला भनेर दुलालले २०५८ सालमा १२ कट्ठामा सुपारी लगाउनुभएको हो । मरीच भारत र तेस्रो देशबाट आयात हुने मसलाबाली हो । उहाँका अनुसार भारतबाट आउने मरीच किलोको दुई हजार पाँच सय रुपियाँसम्म थोक मूल्यमा आउँदो रहेछ । जति उत्पादन भए पनि मरीचलाई बजारको समस्या नरहेको दुलालको ठम्याइ छ । सुपारीका बोटमा मरीच लगाएर सफलतापूर्वक आम्दानी लिएपछि उहाँले १६ महिनाअघि ड्र्यागन फ्रुट लगाउनुभयो । चार कट्ठा जति जग्गा खालि थियो । त्यो जग्गासँगै लामो दुरीमा रोपिएका सुपारीका बिचमा पनि उहाँले ड्र्यागन लगाउनुभयो । व्यावसायिक ड्र्यागन खेती गरिरहेका पथरी शनिश्चरे–८ का चन्द्र लिम्बूसँग उहाँले सुपारीका बिरुवा साट्नुभयो । दुलाल हरेक वर्ष सुपारीको नर्सरी राख्नुहुन्छ ।

समान मूल्य राखेर साटिएका ८८० बिरुवाले यस वर्ष पहिलो पटक आम्दानी दिए । हालसम्म दुई सय किलो फल बजार पठाइसकेका दुलालले एक सिजनमा पाँच पटक उत्पादन दिने बताउनुभयो । बिरुवा दिनेले किसानले अब एक पटक फल्छ भन्नुभएको छ । हेरौँ के हुन्छ रु प्रतिकेजी तीन सय रुपियाँमा बजार पठाएका दुलालले हालसम्म ६० हजारको सिउँडी फल बेचिसक्नुभएको छ । उहाँको समृद्धि कृषि फार्ममा उहाँ आफैँ खट्नुहुन्छ । एक जना सहयोगी र श्रीमतीले फार्मको भरथेग गरिरहनुभएको छ ।