इटहरी । कटारीको सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्डको स्तरोन्नति हुन नसक्दा सर्वसाधारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । सवारीसाधनबाटै सो खण्डको ४६ किलोमिटर दुरी पार गर्न यात्रुलाई छ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । कोशी प्रदेशको पश्चिम क्षेत्रमा अवस्थित उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका मानिसलाई तराईसँग जोड्ने गरी निर्माण गरिएको मुख्य सडक सिद्धिचरण लोकमार्ग सञ्चालनमा आएको तीन दशक भइसकेको छ । समयानुकूल मर्मतसम्भार नहुँदा यस क्षेत्रका आमनागरिकले हरेक पटक ज्यान नै जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।
मधेश प्रदेशको सिराहाको मिर्चैयाबाट सुरु हुने सडकले सोलुखुम्बु जिल्लाको सल्लेरीसम्म जोड्छ । त्यसमा मिर्चैयादेखि कटारी बजारसम्म २६ किलोमिटर पर्छ । कटारी बजारदेखि घुर्मीसम्म ४६ किलोमिटर अत्याधिक जीर्ण सडक छ । यस खण्डको सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती भएको हो । साबिकको सगरमाथा अञ्चलमा पर्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुलाई तराईसँग जोड्ने एक मात्र सिधा सडक सिद्धिचरण लोकमार्ग हो ।
दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन आवतजावत गर्ने पहाडी भूगोलमा रहेको सडक एकातिर साँघुरो छ भने अर्कातिर खाल्टैखाल्टा भएकोले कतिखेर कहाँ गाडी पल्टिने हो भन्ने चिन्ताले यात्रु पिरोलिने गरेको कटारी–८, सिरिसेका कमलेश मगरले बताउनुभयो । कटारी नगरपालिकाको केन्द्र कटारी बजारलाई वडा नं। ८, ९, १०, ११, १२, १३ र १४ सँग जोड्न पनि यही सडक प्रयोग गर्नु पर्छ । उदयपुरलगायत पहाडी क्षेत्रका चार वटा जिल्लाका लागि यो सडक स्तरोन्नति नहुँदा स्थानीयलाई निकै ठुलो समस्या भएको कटारी नगरपालिका–११ का पूर्ववडाध्यक्ष सरोज बुढाथोकी बताउनुहुन्छ ।


