इटहरी । बिहीबारबाट सुरु भएको वर्षाका कारण धनकुटाका दुई सडक अवरुद्ध भएका छन् । वर्षाका कारण तमोर करिडोर, भेडेटार–रवि–राँके सडक अवरुद्ध भएका हुन् । तमोर करिडोरअन्तर्गत धनकुटा खण्डमा पर्ने छरुवा खोला, नावा खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको उहाँको भनाइ छ ।
यो सडक अवरुद्ध भएसँगै धनकुटा र तेह्रथुमको गढतिर तथा पाँचथर र ताप्लेजुङ जिल्लाको तराईसँगको सडक सञ्जाल टुटेको छ । भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ । यो निर्माणाधीन सडक अवरुद्ध हुँदा धनकुटाको चौबिसे र पाँचथरतर्फबाट आउने सवारी साधनलाई अवरोध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।


