इटहरी । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्याएको छ । थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । बर्सातले किसानलाई धेरै ठूलो क्षति पुर्याएको पौवादुङ(२ का किसान राजन ढकालले बताउनुभयो । धान थन्काउने मुख्य याममा भएको निरन्तरको बर्सातले किसान समस्यामा परेको उहाँको भनाइ छ ।

ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशुचौपायाका लागि राखिने पराल पनि बिग्रँदै गएको छ । किसानको वर्षभरिको मेहनत बर्सातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयाँलले बताउनुभयो । थन्काउने अवस्थामा रहेको धानमा क्षति पुगेपछि किसानले ठूलो पीडा भोग्नु परेको उहाँको भनाइ छ । लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ ।