एपेक राष्ट्रिय काव्यमहोत्सव तथा काव्यचित्र सिर्जना शिविर–२०८२ को आयोजनाको जिम्मेवारी पाउँदा मैले एउटा सपना देखेँ—साहित्य, कला र सिर्जनाको संगमस्थल इटहरीमा एउटा एतिहासिक क्षण सृजना गर्ने सपना।
शुरुमा असोज ४ गतेका लागि तय गरिएको कार्यक्रम पछि कार्तिक १५ गते सारियो। म कार्तिक १ गते नै काठमाडौंबाट इटहरी आइपुगेँ—हल बुकिङदेखि खानपान, साउन्ड सिस्टम, ब्यानर, मिडिया पार्टनर, फोटोग्राफी–भिडियोग्राफीसम्म सबै व्यवस्थापन पूरा भयो।
कार्तिक १३ गते एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठ र कार्यकारी निर्देशक आउनुभयो। कार्तिक १४ गते वरिष्ठ साहित्यकार उषा शेरचन इटहरी आइपुग्नुभयो। त्यतिबेला मलाई लाग्यो—अब यो कार्यक्रम केवल एक कार्यक्रम होइन, एउटा सांस्कृतिक इतिहास बन्नेछ।
अन्ततः त्यो इतिहास बनेरै रह्यो।
“एपेक राष्ट्रिय काव्यमहोत्सव–२” कोशी प्रदेशको इटहरीस्थित होटल सोल्टी वेस्टएण्डमा अत्यन्त भव्य र अभूतपूर्व रूपमा सम्पन्न भयो। सातै प्रदेशका १४ कवि र १४ चित्रकारहरूको सामूहिक सिर्जनाले इटहरीलाई सृजनाको रङ्गमञ्च बनायो। कविहरूका शब्दहरूले भावनाको चित्र कोरे; चित्रकारहरूले ती कविताका भावहरूलाई क्यानभासमा उतारे। त्यो क्षण शब्द र रङ्गको मिलन थियो—साहित्य र कलाको युगलगीत।
कार्यक्रमको उद्घाटन एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठको अध्यक्षतामा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय संयोजक प्रसिद्ध कलाकार संजय बान्तवा र वरिष्ठ साहित्यकार उषा शेरचनज्यूले संयुक्त रूपमा गर्नुभएको थियो।
म यो अवसरमा विशेष आभार व्यक्त गर्न चाहन्छु — कवि मनु मन्जिलज्यू, प्यारी बौद्धिक सुन्दरी लीला अनमोल, विवश पोखरेल दाइ, गोकुल अधिकारी र राजु केसीज्यू। तपाईंहरूका समर्पण, साथ र विश्वासले यो महोत्सव सम्भव भयो।
त्यसैगरी सातै प्रदेशका कवि र चित्रकारज्यूहरू—तपाईंहरू नै यस कार्यक्रमका आत्मा हुनुहुन्छ। तपाईंहरूको सिर्जनाले देशभरका साहित्यप्रेमीहरूमा नयाँ ऊर्जा भरेको छ।
एपेक नेपालप्रति म कृतज्ञ छु—कोशी प्रदेशलाई विश्वास गरेर, मेरो गृहनगर इटहरीलाई यस सृजनात्मक महोत्सवको केन्द्र बनाउन सहमति जनाइदिएकामा।
यो काव्यमहोत्सव केवल एक कार्यक्रम थिएन; यो इटहरीको साहित्यिक पहिचानको पुनर्जागरण थियो।
कार्यक्रमका क्रममा मैले कोशी प्रदेशमा “साहित्य भवन” निर्माणको घोषणा गरेँ, जसका लागि पर्यटन मन्त्री षडानन्द मण्डलज्यूले प्रतिबद्धता जनाउनुभयो। त्यो भवन केवल इमारत होइन—भविष्यका कवि, लेखक र कलाकारहरूको तीर्थस्थल बन्नेछ। जहाँ देशभरका स्रष्टाहरू आएर कविता लेख्ने, चित्र कोर्ने, विचार बाँड्ने र सिर्जनाको साधना गर्नेछन्।
अन्त्यमा, म कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कानुन मन्त्री रेवती रमण भण्डारी, पर्यटन मन्त्री षडानन्द मण्डल, देशभरका कवि–चित्रकार, सहयोगी, सहभागी र दर्शक सबैप्रति हृदयदेखि आभार व्यक्त गर्छु।
यो कार्यक्रमले एउटा सन्देश दिएको छ “जहाँ स्रष्टाहरू एक ठाउँमा भेला हुन्छन्, त्यहाँ केवल शब्द र चित्र होइन, इतिहास जन्मिन्छ।”


