✍️विश्व प्रकाश तिम्सिना(शर्मा)
युवा नेता-नेपाली कांग्रेस झापा
फागुन २१ गते नेपाली कांग्रेसको आसन्न आन्तरिक चुनाव नजिकिँदै जाँदा पार्टीभित्र अब केवल नेतृत्वको प्रतिस्पर्धा मात्र होइन, दिशा र सोचको पुनर्विचारको बहस पनि तीव्र बन्दै गएको छ।
९ लाख सदस्य रहेको पार्टीमा ६ लाखभन्दा बढीले सदस्यता नवीकरण नगरेको तथ्यांकले संगठनभित्रको असन्तुष्टि र विश्वास संकटको स्पष्ट संकेत गरेको छ। यसको दोष केवल शीर्ष नेतृत्वमा सीमित छैन; वडा, गाउँ, नगर, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मका सबै तहका नेतृत्वले पनि अब आत्मसमीक्षा र जवाफदेहिता लिनैपर्ने आवाज उच्चरित भएको छ।
???? जेनजीको प्रश्न र नयाँ राजनीतिक चेतना
हालैको राजनीतिक परिदृश्यमा युवा पुस्ता, विशेषगरी जेनजी (GenZ) पुस्ताले उत्पन्न गरेको चेतना र आन्दोलनले देशको राजनीतिक मनोविज्ञानमै नयाँ कम्पन ल्याएको छ।
यो पुस्ता नेताको भाषण होइन, कर्म र परिणाम माग्दै सडकमा उत्रिएको छ।
उनीहरूको प्रश्न सरल तर गहिरो छ “कांग्रेसको नेतृत्व अझै पुरानै सर्कलमा किन घुमिरहेछ ?”
यस पुस्ताले अब परम्परागत नारा र प्रतीकात्मक राजनीति होइन, व्यवहारिक परिवर्तन खोज्दैछ। उनीहरूलाई पार्टीको वैचारिक अद्यावधिक, नीति–कार्यक्रममा स्पष्ट दृष्टिकोण र इमानदार नेतृत्व चाहिएको छ।
???? युवा नेतृत्व : परिभाषाको पुनर्विचार
पार्टीभित्र अहिले “युवा नेतृत्व” भन्ने शब्द व्यापक रूपमा प्रयोग भइरहेको छ। तर, प्रश्न उठ्छ — युवाको परिभाषा के हो ?
तीन–तीन पटक सांसद भइसकेका, मन्त्री बनेका नेताहरू अझै पनि “नयाँ अनुहार”को नाममा प्रस्तुत हुन मिल्छ ?
उदाहरणका रूपमा गगन थापालाई कतिपयले युवा पुस्ताको प्रतीक ठान्छन्। तर उनी तीन पटक सांसद, पटकौं मन्त्री भइसकेका छन्। अब उनलाई ‘नयाँ अनुहार’ भन्नु कि पुरानो सोचसहितको नयाँ ब्रान्डिङ भन्ने ? त्यसैले, अहिले बलियो हुँदै गएको धारणा के हो भने —“युवाको परिभाषा उमेर होइन, दृष्टि र अभ्यास हो।”
८० वर्षका नेताले पनि यदि समय र समाजको यथार्थ बुझ्ने परिपक्व भिजन दिएका छन् भने, उनलाई पुरानो भनेर हटाउनु अन्याय हुन्छ।
त्यस्तै, दशकौं सत्ता र पदमा रहेका ३०–४० वर्षका नेताहरूलाई मात्र ‘युवा’ भन्नु पनि विरोधाभासी ठहरिन्छ।
???? नियमित कि विशेष महाधिवेशन ?
कांग्रेसभित्र अहिले अर्को मूल बहस चलिरहेको छ —
के पार्टीले निर्धारित समयमै नियमित महाधिवेशन गरेर नेतृत्वको प्रतिस्पर्धा गर्ने ? वा संगठनगत संकट, विचारगत शून्यता र जनविश्वास पुनःस्थापनाका लागि विशेष महाधिवेशन आवश्यक छ ?
विश्लेषकहरू भन्छन् —
> “यदि कांग्रेसले योचोटि पनि केवल व्यक्ति–केन्द्रित प्रतिस्पर्धा गरेर पुरानै अनुहारहरूलाई नयाँ नामले पुनःप्याकेज गर्ने हो भने, जनताको विश्वास पुनःस्थापित गर्न गाह्रो हुनेछ।”
???? जवाफदेहिताका सात प्रश्नहरू
१. पार्टीले आफ्नो नीति, सिद्धान्त र कार्यक्रम समयानुकूल अद्यावधिक गर्ने कि नगर्ने ?
२. तहगत नेताहरूले सदस्यता नवीकरण र संगठन सुदृढीकरणमा असफल भएको जिम्मेवारी लिने कि नलिने ?
३. “एक व्यक्ति, एक पद” सिद्धान्त व्यवहारमा उतार्ने कि केवल भाषणमै राख्ने ?
४. जनभावना विपरीत काम गर्ने प्रदेश र स्थानीय सरकारका नेताहरूलाई कारबाही गर्ने कि मौन बस्ने ?
५. पार्टी नीति र कार्यक्रमप्रति कार्यकर्ता सन्तुष्ट छन् ?
६. प्रजातान्त्रिक मूल्य र संस्कारलाई संस्थागत गर्ने वैचारिक बहस चलाउने कि केवल चुनावमै सीमित हुने ?
७. शीर्ष तहका नेताहरूले भागबण्डाको राजनीताबाट उत्पन्न जनवितृष्णाको जिम्मेवारी लिने कि फेरि पन्छिने ?
यी प्रश्नहरूको जवाफ कांग्रेसका नेताहरूले दिन सके भने मात्र संगठन पुनर्जागृत हुन सक्छ।
कांग्रेसको भविष्य अब केवल सभापति–महामन्त्रीको प्रतिस्पर्धामा सीमित छैन। यो समय दिशा, सोच र राजनीतिक संस्कार पुनःनिर्माण गर्ने अवसर हो।
जेनजी पुस्ताको उत्साह, पुरानो पुस्ताको अनुभव र कार्यकर्ताको आस्था मिलाएर पार्टीले आफूलाई पुनर्जीवित गर्न सकेन भने, यो केवल महाधिवेशन होइन —संगठनको अस्तित्वकै निर्णायक क्षण बन्नेछ।


