✍️ विश्व प्रकाश तिम्सिना (शर्मा)

युवा नेता, नेपाली कांग्रेस (झापा)


नेपाली कांग्रेसभित्र हाल १५औं महाधिवेशनको मिति र आवश्यकता सम्बन्धी बहस गहिरिँदै गएको छ। केही नेताहरूले आसन्न निर्वाचनलाई बहाना बनाएर महाधिवेशन स्थगित गर्नुपर्ने तर्क प्रस्तुत गरिरहेका छन्, भने सुधार र रूपान्तरण चाहने पक्षले यसलाई “पुरातनवादी सोचको दमन” भन्दै कडा विरोध जनाइरहेका छन्।

पार्टीभित्र चलिरहेको सत्ता र स्वार्थको जालोले कांग्रेसको आत्मा कमजोर बन्दै गएको धारणा कार्यकर्तामाझ तीव्र बनेको छ। धेरैजसो कार्यकर्ताहरू खुलेरै भन्दैछन् “अब परिवर्तन नचाहने सोचहरू नेकाका खरानी दस्ताहुन्।”

कांग्रेसको इतिहास जनताको अधिकार, समर्पण र बलिदानको कथा हो। सात दशकअघि यही पार्टीले देशमा प्रजातन्त्र ल्यायो, अधिनायकवादविरुद्ध लड्यो र गणतन्त्रको जग बसाल्यो।

तर आज यही पार्टी आफ्नै आन्तरिक लोकतन्त्र र पारदर्शिताको सवालमा गम्भीर प्रश्नको सामना गरिरहेको छ। “सात दाजुभाइ” भनिने गुटीय सन्तुलनले पार्टीलाई दिशाहीन बनाइरहेको छ हरेक गुट आफ्नो प्रभुत्व कायम राख्न सदस्यता नवीकरणमा अवरोध पुर्‍याइरहेका छन्, जसले पार्टीको नीतिगत सशक्तिकरणभन्दा पनि “कसले कसलाई टिकट दिने” भन्ने गणितलाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ।

महाधिवेशनको मिति तोक्न नसक्नु, सदस्यता नवीकरणमा ढिलाइ, र तल्लो तहसम्म फैलिएको भय र अनिश्चितता — यी सबैले देखाउँछन् कि नेतृत्वले परिवर्तनभन्दा स्वार्थ र नियन्त्रण रोजिरहेको छ।यो अवस्था त्यही कांग्रेसका लागि लज्जास्पद हो, जसले कहिल्यै राजतन्त्रको डर नमानी जनताको पक्षमा आन्दोलन गरेको थियो।

आजको युग जनसहभागिता, पारदर्शिता र जवाफदेहिताको युग हो। त्यसैले आजको कांग्रेस यस्तो हुनुपर्छ सदस्यता नवीकरण पारदर्शी र निष्पक्ष हुनुपर्छ,टिकट वितरण पात्रका आधारमा, नाताका होइन, युवापुस्तालाई नेतृत्वमा ल्याउने साहस गर्नुपर्छ,र आन्तरिक लोकतन्त्र संस्थागत गर्नुपर्छ।

तर दुर्भाग्यवश, अहिलेको नेतृत्व त्यसको ठ्याक्कै विपरीत दिशामा हिँडिरहेको देखिन्छ — जसले पार्टीभित्र निराशा, अविश्वास र मोहभंग बढाइरहेको छ।

तल्लो तहका कार्यकर्ताहरू अब पुरानो खेलको हिस्सा बन्न चाहँदैनन्। उनीहरू स्पष्ट बोल्न थालेका छन् “हामी टिकटका व्यापारी होइनौं, विचारका सिपाही हौं।” कार्यकर्ताहरू पार्टीमा शुद्धिकरण, निष्ठा, अनुशासन, र नयाँ पुस्ताको अवसर खोजिरहेका छन्।

यदि नेतृत्वले यो जनभावना नबुझी केवल कुर्सीको संरक्षणमा रमाउन खोज्ने हो भने, पार्टी आफ्नो ऐतिहासिक पहिचान नै गुमाउने खतरा छ।

आगामी कांग्रेस केवल अतीतको गौरवमा रमाउने होइन, भविष्य निर्माणको बाटो देखाउने पार्टी हुनुपर्छ। त्यसका लागि १५औं महाधिवेशन आवश्यक मात्र होइन, अपरिहार्य छ। महाधिवेशन नै आत्मपरीक्षण र पुनर्जागरणको सबैभन्दा प्रभावकारी औजार हो।

महाधिवेशन नगरी चुनावमा जाने प्रयास स्वार्थको आवरणमा लुकेको डर हो — त्यो डर हो रूपान्तरणको, जवाफदेहिताको, र नयाँ पुस्ताको ऊर्जा प्रति असहजताको।

१५औं महाधिवेशन रोक्ने, सदस्यता नवीकरण अड्काउने, र टिकट बाँड्ने खेलमा रमाउने नेताहरूले पार्टीलाई दिशाहीन बनाइरहेका छन्। यस्ता पुरातनवादी सोच र स्वार्थकेन्द्रित व्यवहार अब कांग्रेसभित्र इतिहासका धब्बा मात्र हुन्।

कांग्रेसले अब कार्यकर्ताको जनभावना बुझेर, नयाँ पुस्ताको ऊर्जा आत्मसात् गरेर, पारदर्शी र जवाफदेही पार्टी बन्न सके मात्र आफ्नो ऐतिहासिक गौरव पुनःस्थापना गर्न सक्छ। त्यसैले — महाधिवेशन नै रूपान्तरणको ढोका हो। त्यो ढोका बन्द गर्नेहरूले पार्टीलाई भविष्यको बाटोबाट हटाउँछन्।