✍️विश्व प्रकाश तिम्सिना(शर्मा)
युवा नेता,नेपाली कांग्रेस(झापा)
नेपालको लोकतान्त्रिक यात्राको प्रत्येक मोडमा नेपाली कांग्रेसको नाम स्वर्ण अक्षरमा लेखिएको छ। राणाशासनको अन्त्यदेखि बहुदलीय प्रजातन्त्रको पुनःस्थापना, ०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को ऐतिहासिक आन्दोलनसम्म — कांग्रेसले देशलाई स्वाधीनताको बाटोमा डोर्यायो। संविधान निर्माण, नागरिक अधिकारको संस्थागत व्यवस्था र जनताको आवाजको प्रतिनिधित्व यी सबै कांग्रेसको योगदान हुन्।
तर आजको यथार्थ भिन्न छ। जनताको पार्टी भनेर चिनिने कांग्रेस अहिले सत्ताको दलजस्तो देखिन्छ। संगठनभित्रको असन्तुलन, गुटगत स्वार्थ र टिकटको दौडबाजीले जनताको विश्वास ओझेलमा परेको छ। यही कारण, जनतासँग गहिरो सम्बन्ध राख्ने दल अहिले जनताको भावनाबाट टाढिँदै गएको अनुभूति भइरहेछ।
अब प्रश्न उठेको छ — के नेपाली कांग्रेस फेरि जनताको पार्टी बन्न सक्छ ?
यो प्रश्नको उत्तर नेतृत्वको इच्छाशक्ति र संगठनको रूपान्तरणमा लुकेको छ। वडा, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मको संरचना फेरि जनमुखी र कार्यकर्तामुखी हुन आवश्यक छ। तल्लो तहमा कार्यकर्ताको आवाज सुन्ने र त्यसलाई शीर्ष तहसम्म पुर्याउने प्रणाली नै कांग्रेसको जीवनरेखा हो। संगठनभित्रको असन्तुलन, मनोनयनमा हुने अन्याय र पहुँचको राजनीति अन्त्य गर्नैपर्छ।
त्यससँगै, कांग्रेसका भातृ संघ–संगठनहरूको पुनर्जीवन पनि अत्यावश्यक छ। नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, शिक्षक संघलगायतका संगठनहरू विचार र जनभावनाको मूल स्रोत हुन्। यी संस्थाहरू गुटगत प्रतिस्पर्धाको थलो होइन, विचार र आन्दोलनको मञ्च बन्नुपर्छ। यी संघहरू सशक्त भए मात्र कांग्रेसको जरा फेरि जनतामाझ फैलिन सक्छ।
१५औं महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चयनको मञ्च होइन, आत्ममूल्यांकन र पुनर्जागरणको अवसर हो। Tested नेताहरूको अनुभवलाई सम्मान गर्दै, नयाँ पुस्ताको ऊर्जा, दृष्टि र इमानदारीलाई अघि ल्याउने ऐतिहासिक क्षण यही हो। पुराना अनुहारको अनुभव र नयाँ सोचबीचको सन्तुलन कायम गर्न सके मात्रै पार्टीले नयाँ दिशा पाउँछ।
महाधिवेशनले अब स्पष्ट सन्देश दिनुपर्छ — कांग्रेसमा टिकटको हदबन्दी होइन, योग्यता र योगदानको मूल्य हुनेछ। पार्टीभित्रका सबैलाई सन्देश जानुपर्छ :- अब अवसर सत्तासँग नजिक भएकाहरूलाई होइन, संगठनका लागि वर्षौँदेखि मेहनत गर्ने, जनता नजिक काम गर्नेहरूलाई मिल्नेछ।
आजको जनता भावनात्मक भाषण होइन, व्यवहारिक सुधार खोज्दैछ। कांग्रेसले आत्मसुधारको बाटो रोज्दै, नीति र कार्यशैलीमा पारदर्शिता ल्याउँदै, संगठनमा सन्तुलन कायम गर्न सके मात्रै फेरि विश्वास प्राप्त गर्न सक्छ।
पार्टीको भूतपूर्व गौरव अझै मेटिएको छैन। तर त्यो गौरवले अब भविष्य सुनिश्चित गर्न सक्दैन । नयाँ सोच, नयाँ अभ्यास र नयाँ नेतृत्वले मात्रै सक्छ।
१५औं महाधिवेशनको निष्कर्ष यही हुनुपर्छ “हामी जनताका लागि हौं” भन्ने भाव पुनः जागृत गराउने निर्णय। वडास्तरदेखि केन्द्रसम्म सबै तहमा जनभावनालाई प्राथमिकता दिँदै, भातृ संघ–संगठनहरूलाई विचार र अभियानको थलो बनाउँदै, टिकटको राजनीति अन्त्य गरेर योग्यता र निष्ठाको सम्मान गर्दै कांग्रेस फेरि जनताको पार्टी बन्न सक्छ।
जनताले अझै आशा त्यागेका छैनन्। अब त्यो आशालाई कर्मद्वारा पुरा गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा छ।
र, यदि यसपालि कांग्रेसले आफ्नो रूपान्तरणमा साहस देखायो भने, जनता फेरि गर्वका साथ भन्न सक्नेछन्
“हो, नेपाली कांग्रेस फेरि हाम्रो पार्टी बनेको छ।”


