इटहरी | धरान मन्टेश्वरी एकेडेमीले आफ्नो तेस्रो जेष्ठ नागरिक दिवस उत्साहपूर्वक सम्पन्न गरेको छ। विद्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएर जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूले नेपाली परम्परागत नृत्य, नाटक, गीत–संगीत, कविता वाचनलगायतका प्रस्तुति प्रस्तुत गरे। विद्यालयमा अध्ययनरत बालबालिकाले नै सम्पूर्ण कार्यक्रम सञ्चालन तथा संयोजन गरेका कारण कार्यक्रम अझै रोचक र शिक्षाप्रद बनेको थियो।

 अभिभावकहरूले आफ्ना सन्तानको प्रस्तुति अवलोकन गर्दै अभिभावकहरूले विद्यालयको शिक्षणस्तर, वातावरण र व्यवस्थापकीय कार्यशैलीप्रति प्रशंसा व्यक्त गरे। अभिभावकहरूका लागि विभिन्न रमाइला खेल प्रतियोगिताहरू राखिएको थियो, जसका विजेता अभिभावकलाई पुरस्कारसमेत वितरण गरियो।

विद्यालयकी प्रिन्सिपल मैया राई अग्रवालका अनुसार २०६१ सालदेखि सञ्चालनमा रहेको धरान मन्टेश्वरी एकेडेमीले बालमनोविज्ञानमा आधारित ‘खेल्दै सिक्ने’ शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै आएको छ। अतिरिक्त क्रियाकलाप, नृत्य–संगीत, इन्डोर गेमलगायतका कार्यक्रममार्फत बालबालिकाको सर्वांगीण विकासमा विद्यालय निरन्तर क्रियाशील रहेको उनले बताइन्।

विद्यालयका प्रबन्ध निर्देशक दिपक अग्रवालले विद्यार्थीको शैक्षिक उन्नति मात्र नभई व्यवहारिक सीप तथा सामाजिक मूल्य–मान्यताको विकासमा विद्यालयले विशेष ध्यान दिइरहेको बताए। अभिभावकको विश्वास र विद्यार्थीको प्रगतिकै कारण विद्यालय रुचिकर र विश्वसनीय शैक्षिक गन्तव्यको रूपमा स्थापित भएको उनको भनाइ थियो।

कार्यक्रमकी विशिष्ट अतिथि ललिता देवी अग्रवालले जेष्ठ नागरिकको सम्मान समाजको संस्कार र पहिचान भएको बताउँदै विद्यालयले गरेको प्रयासप्रति प्रशंसा व्यक्त गरिन्। कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।