इटहरी । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । भोटेका अनुसार जडीबुटी व्यवसाय उहाँहरूको पुर्खौली पेसा नै हो । जिजुबाजेदेखि बुबाआमासम्मकै पुस्ताले जडीबुटी सङ्कलन तथा बिक्री गर्दै आएको परम्परालाई उहाँले निरन्तरता दिइरहनुभएको बताउनुभयो । पहिला हिउँद सुरु भएपछि लेकाली क्षेत्रमा पाइने जडीबुटी बोकेर बुबाआमाले कुम्लोमै बोकेर महिनौ दिन हाटबजारमा बिक्री गर्दै तराई झर्नुहुन्थ्यो । अहिले भने सडक यातायातको पहुँच पुगेसँगै गाउँमै पनि व्यापार गर्न सहज भएको छ । सुरुमा शहरको बसाइ र गर्मीको मौसम निकै गाह्रो भए पनि विस्तारै बानी पर्दै गएपछि व्यवसाय वृद्धि हुदै गएको उहाँको भनाइ छ ।
अहिले दैनिक रूपमा रु ६ हजारदेखि रु १० हजारसम्म आम्दानी हुने गरेको छ । आइतबार हटियाको दिन भने रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी हुने गरेको भोटेले जानकारी दिनुभयो । भोटेको पसलमा हाल १०० भन्दाबढी जडीबुटी बिक्रीका लागि राखिएका छन् । रु ५ देखि रु २० हजारसम्मका जडीबुटी बिक्रीका लागि उपलब्ध छन् । रक्सी बनाउन प्रयोग हुने मर्चादेखि धार्मिक तथा सांस्कृतिक प्रयोजनका सामग्रीसम्म बिक्रीमा छन् । किरात समुदायले साकेला पर्वमा प्रयोग गर्ने चौरीको पुच्छरसमेत उहाँले बिक्रीका लागि राख्नुभएको छ । भोटेले शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, यार्सागुम्बासहित विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै आउनुभएको छ । सोही ठाउँमा जडीबुटी व्यवसाय सञ्चालन गर्दै आउनु भएकी पासाङ् ल्यामु भोटियाले पनि १५ वर्षदेखि यही पेशालाई आत्मनिर्भरताको आधार बनाउँदै आएको बताउनुभयो ।
अन्य पेसामा ज्ञान नभएका कारणे पुर्खौली पेसा जडीबुटी व्यवसाय नै रोजेको उहाँले बताउनुभयो । बिक्रीका लागि जडिबुटी, सङ्खुवासभा, भोटखोला, साथै नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको भोटियाले बताउनुभयो । सङ्खुवासभाको चेपुवा, हटिया, भोटखोला, होङ्गोङ, गोलालगायत हिमाली क्षेत्रका शेर्पा तथा भोटे समुदायमा आज पनि जडीबुटी सङ्कलन तथा बिक्री परम्परागत पेसाका रूपमा चलिआएको छ । विगतमा महिनौँ यात्रा गर्दै बर्कीका कुम्लो बनाएर बोकेर गाउँ शहर डुल्ने परम्परा रहे पनि अहिले यातायात तथा आपूर्तिको सहजताले गाउँमा पनि व्यवसाय गर्न सहज भएको व्यापारीको भनाइ छ ।

