इटहरी । धनकुटामा निर्वाचन प्रहरीमा आकर्षण निक्कै कम देखिएको छ ।
सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाटै दरखास्त आह्वान गरेको छ । तर आवेदन खुलाएको पाँच दिनमा करिब ६ सय जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । धनकुटाका लागि नेपाल प्रहरी तर्फ नौ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी एक हजार ८५ निर्वाचन प्रहरीको कोटा छ । आवेदन न्यून परेपछि जिल्ला प्रहरी कार्यलयले थप दुई स्थानबाट समेत आवेदन दिने व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यलयसहित इलाका प्रहरी कार्यलय छिन्ताङ र इलाका प्रहरी कार्यलय राजारानीबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाए जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
भौगोलिक विकटताका कारण सदरमुकामभन्दा टाढा रकेका स्थानलाई लक्षित गरी दुई स्थान थप गरीएको उहाँको भनाइ छ ।छारागाउँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वार्टर छिन्ताङका लागि छुट्याइएको ९६ जनाका खुलाइएको कोटामा अपेक्षाकृत आवेदन नपरेको जनाइएको छ । जतिसक्दो धेरैबाट छान्न पाउँदा राम्रो जनशक्ति पाइने भए पनि आवेदन दिनेको सङ्ख्या नबढ्दा छनोटमै समस्या हुन सक्न जनाइएको छ । माघ ५ देखि ९ गतेसम्म निर्वाचन प्रहरीको भर्ना छनोट सकेर १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने तयारी छ । यस्तै माघ १५ गतेदेखि प्रशिक्षण सुरु गर्ने कार्यतालिका रहेको डिएसपी कार्कीले जानकारी दिनुभयो । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सेवा सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ । निर्वाचन सुरक्षा प्रहरीले प्रतिदिन आठ सय ६९ रुपियाँ ४० पैसा पाउँछन् ।


