भोजपुर | ‘हाम्रो प्रकृति हाम्रो संस्कृति, पर्यटन नै हाम्रो आर्थिक उन्नती’ भन्ने नाराका साथमा पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा डवली मेला सुरु भएको छ । उज्यालो भोजपुर संस्थाको आयोजनामा आगामी फागुन तीन गतेसम्म मेला सञ्चालन हुनेभएको छ ।
भोजपुरको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान झल्काउने उद्देश्यका साथ ऐतिहासिक भोजपुर डबली मेला आयोजना गरिएको आयोजक उज्यालो भोजपुरका सदस्य देउप्रकाश राईले जानकारी दिनुभयो ।
उहाँ अनुसार मेलामा स्थानीय उत्पादनको प्रवर्धन, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि फोटो तथा भिडियो प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, सामूहिक खेलकुद प्रतियोगिता, बिङ्गो खेल, लुडो, बाइक रेस लगायत विविध आकर्षक कार्यक्रम समावेश गरिएको छ ।
मेलाको विशेष आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुती हुने छ । जसमा द्रव्य ब्याण्ड सहित समिक्षा अधिकारी, रचना रिमाल लगायतका कलाकारहरुको जमघट हुने छ । माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ लगायतका अन्य कार्यक्रमहरु पनि मेलामा गरिने छ ।
मेलाले भोजपुरको पर्यटन प्रवर्धन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिईएको आयोजक पक्षले दावी गरेको छ ।


