धनकुटा | माघे संक्रान्तिको अवसरमा वर्षौँदेखि धनकुटाको लेगुवा क्षेत्रमा लाग्दै आएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको अगुल्टे मेला यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ।
धनकुटा र भोजपुर जिल्लाको संगमस्थलमा पर्ने लेगुवामा हरेक वर्ष माघे संक्रान्तिका दिन आयोजना हुने यो मेला पूर्वी पहाडी क्षेत्रकै प्रमुख धार्मिक तथा सांस्कृतिक मेलामध्ये एकका रूपमा परिचित छ। परम्परागत रूपमा आयोजना हुँदै आएको यो मेलाले स्थानीय संस्कृति, धर्म र सामाजिक एकताको प्रतीकको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ।
मेलाको अवलोकनका लागि धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका अन्तर्गतका विभिन्न वडासहित छिमेकी पालिकाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए। साथै छिमेकी जिल्ला भोजपुर र संखुवासभाबाट पनि उल्लेख्य सङ्ख्यामा दर्शनार्थी तथा श्रद्धालुहरू लेगुवा पुगेका थिए। माघे संक्रान्तिका दिन लेगुवा क्षेत्रमा बिहानैदेखि भीडभाड देखिएको थियो।
अगुल्टे मेला अवलोकन गर्न लेगुवा पुगेका दर्शनार्थीहरूले परम्पराअनुसार अरुण नदीमा मकर स्नान गर्ने चलनलाई निरन्तरता दिएका थिए। मकर स्नान गर्दा पुण्य प्राप्त हुने, रोग–व्याधि नाश हुने र नयाँ वर्षका लागि शुभकामना प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ। यही विश्वासका कारण हरेक वर्ष माघे संक्रान्तिका दिन लेगुवा क्षेत्रमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गरेको स्थानीयवासी नगेन्द्र अधिकारीले बताउनु भयो ।
मेलामा स्थानीय उत्पादन, परम्परागत खानाका परिकार, घरेलु सामग्री, खेलौना तथा धार्मिक सामग्रीहरूको व्यापारसमेत हुने गरेको छ।
स्थानीयबासीका अनुसार अगुल्टे मेला केवल धार्मिक कर्मकाण्डमा सीमित नरही सामाजिक भेटघाट, आपसी सद्भाव र सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण अवसरका रूपमा विकास हुँदै आएको छ।
परम्परागत धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अगुल्टे मेला हरेक वर्ष व्यवस्थित रूपमा आयोजना गर्न स्थानीय तह, सामाजिक संघसंस्था र स्थानीयबासीले सहकार्य गर्दै आएका छन्। मेलाको संरक्षण र प्रवर्द्धन गर्दै यसलाई आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।


