इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारीका क्रममा कोशी प्रदेशको सबै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कोशी प्रदेशमा रहेका १४ वटा जिल्लामा २८ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यस क्रममा सबै निर्वाचन क्षेत्रमा औपचारिक रूपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी शुक्रबारबाटै निर्वाचन तयारीसम्बन्धी औपचारिक गतिविधि प्रारम्भ गरिएको छ । इनरुवा समाचारदाताका अनुसार सुनसरीको तीन स्थानमा चार वटा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते हुने भएकाले इनरुवा नगरपालिका–२ स्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृत तथा ४ र २ नम्बर निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तथा ४ नम्बर निर्वाचन अधिकृत प्रकाश राउतको अध्यक्षतामा दुवै निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको हो । सुनसरी जिल्लाको इनरुवामा निर्वाचन क्षेत्र नम्बर २ र ४ को मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सुनसरी २ नम्बर निर्वाचन अधिकृतका रूपमा प्रधानमन्त्री कार्यालयका उपसचिव राजेन्द्रकुमार लम्साल रहनुएको छ । त्यसै गरी दुहबी–६ स्थित पशु तालिम केन्द्र भवनमा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ । सुनसरी ३ नम्बर निर्वाचन अधिकृतमा रोल्पाको जिल्ला न्यायाधिवक्ता पदमबहादुर कार्की रहनुभएको छ । धरान–८ मा सभागृहमा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय १ नम्बर निर्वाचन अधिकृत दिव्यराज घिमिरेको अध्यक्षता र मुख्य निर्वाचन अधिकृत प्रकाश राउतको उपस्थितिमा उद्घाटन भएको हो । जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत तथा चार जना निर्वाचन अधिकृत तोकिको छ ।
मुख्य निर्वाचन अधिकृत राउतलाई नै ४ नम्बर निर्वाचन अधिकृतको पनि जिम्मेवारी दिएको छ । मुख्य निर्वाचन अधिकृत तथा ४ नम्बर निर्वाचन अधिकृत प्रकाश राउतले निर्वाचन आयोगको निर्देशन अनुसारको काम गर्न सबै क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना भएको जानकारी दिनुभयो । गाईघाट समाचारदाताका अनुसार दुई वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । त्रियुगा नगरपालिका–१०, बोक्सेमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मुकेश उपाध्यायले मुख्य निर्वाचन कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालय स्थापना भएसँगै अब निर्वाचनसँग सम्बन्धित सम्पूर्ण मतदान तथा व्यवस्थापनका कार्य यसै निर्वाचन अधिकृतको कार्यालयमार्फत सञ्चालन हुने उहाँले बताउनुभयो । उक्त कार्यालयले उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सम्पूर्ण निर्वाचन व्यवस्थापन गर्ने छ । त्यसै गरी निर्वाचन क्षेत्र नं। २ का लागि जिल्लाको अर्को ठुलो व्यापारिक केद्र कटारी नगरपालिका–४ को कटारी बजारस्थित उद्योग वाणिज्य सङ्घको भवनमा निर्वाचन कार्यालय स्थपना गरिएको निर्वाचन अधिकृत लोकबहादुर कटुवालले बताउनुभयो । निर्वाचन कार्यालय स्थापनासँगै प्रतिनिधि सभा निर्वाचन २०८२ को निर्वाचन कार्यक्रम पनि प्रकाशित गरिएको छ ।
उदयपुरमा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका गरी तीन वटा स्थानीय तह निर्वाचन क्षेत्र नं। १ मा पर्दछन् भने कटारी नगरपालिकालगायत ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकासहित पाँच वटा स्थानीय तह निर्वाचन क्षेत्र नं। २ मा पर्दछन् । ताप्लेजुङ समाचारदाताका अनुसार ताप्लेजुङमा जिल्ला अदालतसँगै रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले उद्घाटन गर्नुभएको छ । कार्यालय उद्घाटन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश श्रेष्ठले आगामी निर्वाचनलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्लावासी मतदाता, राजनीतिक दललगायत सबै पक्षको सहयोग अनिवार्य हुने बताउनुभयो । उहाँले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिलसमेत गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लास्थित सबै सुरक्षा संयन्त्र जिम्मेवार रहने र मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । प्रजिअ सेढाईंले निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आचारसंहितासहितका कानुनी व्यवस्थालाई सबैले पालना गर्न पनि आग्रह गर्नुभयो । एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ८० वटा मतदान स्थल र १२७ वटा मतदान केन्द्र रहेका छन् । आगामी निर्वाचनका लागि जिल्लामा मतदाताको सङ्ख्या भने कुल ९० हजार ३२७ रहेको छ । जिल्ला अदालतमा हालसम्म नेपाल प्रहरीको सुरक्षा पोस्ट रहँदै आएकोमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै सशस्त्र प्रहरीसमेत रहने भएका छन् । खाँदबारी समाचारदाताका अनुसार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले शुक्रबार एक समारोहबिच कार्यालयको उद्घाटन गर्नुभएको हो । सो अवसरमा मुख्य निर्वाचन अधिकृत कोइरालाले निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका र विधि अनुसार नै निर्वाचनका सम्पूर्ण प्रक्रियालाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष बनाउन राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले निर्वाचन सुरक्षाको तयारीबारे प्रकाश पार्नु हुँदै जिल्लाका राजनीतिक दलसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिनुभयो । मतदाताको पहुँचलाई सरल र सहज बनाउन जिल्लामा मतदान स्थल र केन्द्रको सङ्ख्या थप गरिएको छ ।
यसअघिको निर्वाचनमा कायम १०८ मतदान स्थलमा एक थप गरी १०९ मतदान स्थल पु(याइएको छ । त्यस्तै १६२ मतदान केन्द्रमा दुई केन्द्र थप गरी १६४ मतदान केन्द्र कायम गरिएको छ । विसं २०७९ को निर्वाचनमा एक लाख १७ हजार ५५४ मतदाता रहेको सङ्खुवासभामा यस पटक दुई हजार ७६ नयाँ मतदाता थपिएका छन् । यससँगै जिल्लामा कुल मतदाता सङ्ख्या एक लाख १९ हजार ६३० पुगेको छ । पाख्रीबास समाचादाताका अनुसार धनकुटामा धनकुटा नगरपालिका–५ मा रहेको सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको मुख्य निर्वाचन अधिकृत, जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिश्चन्द्र इङ्नामले उद्घाटन गर्नुभएको हो । सो अवसरमा अधिकृत इङ्नामले चुनावमा सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले चुनावका लागि आवश्यक तयारीमा जुट्नेसमेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले सबै राजनीतिक दललाई चुनाव शान्तिपूर्ण र भयरहित वातावरणमा सम्मपन्न गर्नका लागि साथ सहयोग गर्नसमेत आग्रह गर्नुभयो । फिदिम समाचारदाताका अनुसार पाँचथर सदरमुकाम फिदिमस्थित जिल्ला हुलाक कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत कुमार मास्केले उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मास्केले आगामी निर्वाचनलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्लावासी मतदाता, राजनीतिक दललगायत सबै पक्षको सहयोग अनिवार्य हुने बताउनुभयो । उहाँले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिलसमेत गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लास्थित सबै सुरक्षा संयन्त्र जिम्मेवार रहने र मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर काम गर्नेबताउनुभयो ।


