इटहरी । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको सङ्ख्या एक सय नाघेको छ ।

निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो। यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताउनुभयो। गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको सङ्ख्या एक सय नाघेको हो ।

गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि इच्छा देखाएका छन् । दीर्घकालीन रूपमा गोल्डकपलाई अघि बढाउन नयाँ सदस्यता थप गरिएको हो । सदस्यलाई प्रतियोगितामा विशेष सुविधा दिने तयारी गरिएको गोल्डकपका कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिनुभयो । १५ लाख रुपैयाँ पुरस्कार राशिको यो प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । उपविजेताले नगद आठ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा नेपालका तीन विभागीय, झापा ११, भारत, भुटान र मलेसियाका एकएक टिम र तीन वटा नेपाल ए डिभिजन क्लबको सहभागिता रहने अध्यक्ष गिरीले बताउनुभयो ।