इटहरी । कोशी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासलाई लक्ष्य गर्दै इस्र्टन ट्राभल मार्ट २०२६ को छैटौं संस्करण आगामी चैत १४ देखि १६ गतेसम्म इटहरीमा आयोजना हुने भएको छ ।
आयोजक समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मार्च २८, २९ र ३० (२०२६) मा कार्यक्रम सम्पन्न हुने जानकारी दिएको हो । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने तथा भारतीय पर्यटक र स्थानीय पर्यटन व्यवसायीबीच व्यवसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यकमका संयोजक पुण्य प्रसाद भट्टराईले बताउनु भयो ।
कार्यक्रममा भारतका बंगाल, बिहार र सिक्किम तथा भुटानबाट करिब १०० भन्दा बढी पर्यटन व्यवसायी, पत्रकार तथा पर्यटनकर्मी सहभागी हुनेछन् भने नेपालका विभिन्न प्रदेशबाट ५० भन्दा बढी व्यवसायीहरूको उपस्थिति रहनेछ । प्रदेशभित्रका ट्राभल व्यवसायी, होटल व्यवसायी, ग्रामीण तथा धार्मिक पर्यटनकर्मीहरूका करिब ५० स्टलहरू रहने र २०० भन्दा बढी सहभागीहरूको जमघट हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको उद्घघाटन चैत १४ गते इटहरीस्थित होटल सोल्टी वेस्र्टन इटहरी मा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ । समापन भने चैत १६ गते उदयपुरको बेलका रिसोर्ट उदयपुरमा गरिनेछ । चैत १५ गते व्यवसायीहरूबीच ब्रोसर, भिजिटिङ कार्ड तथा पर्यटन प्याकेज आदानप्रदान, प्यानल छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
साथै धरान र भेडेटार लगायतका पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमण पनि आयोजना गरिने सहसंयोजक तेज बहादुर पुरीले बताउनु भयो । कार्यक्रममा पर्यटन पूर्वाधारमा उल्लेखनीय लगानी गर्ने व्यवसायीहरूलाई ‘टुरिजम अवार्ड’ प्रदान गरिनुका साथै पर्यटन क्षेत्रमा योगदान पु¥याएका चार व्यक्तित्वलाई सम्मान गरिनेछ ।
नेपाल टुरिजम बोर्डको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सह–आयोजनामा, कोशी प्रदेश सरकारको सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार कोशी प्रदेश पर्यटन वर्ष २०८२ को अवसरमा आयोजना हुन लागेको यो कार्यक्रम प्रदेशको पर्यटन प्रवद्र्धनमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।


