इटहरी । देशभक्ति, एकता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रीन सिटी क्षेत्रमा मंगलबार २१० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।

श्रीमद् भागवत महापुराण धन–धान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञको छैटौं दिनको विशेष अवसर पारेर आयोजित कार्यक्रम आवास विकास संघ नेपालका अध्यक्ष विष्णु प्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा डीएन ग्रुप अफ कम्पनीका अध्यक्ष दीपक काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । झण्डोत्तोलनको क्षणमा राष्ट्रिय गीतको धुनसँगै उपस्थित जनसमुदाय भावुक बनेका थिए भने ग्रीन सिटी क्षेत्र देशप्रेमको उत्साहले भरिएको देखिन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले २१० फिट अग्लो राष्ट्रिय झण्डा केवल संरचना मात्र नभई नेपालीहरूको आत्मसम्मान, एकता र स्वाभिमानको प्रतीक भएको बताउनुभयो । त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा डीएन ग्रुप अफ कम्पनीका अध्यक्ष दीपक काफ्लेले ग्रीन सिटीलाई केवल आवासीय क्षेत्र मात्र नभई सांस्कृतिक, धार्मिक र राष्ट्रिय चेतनाको केन्द्र बनाउने लक्ष्यका साथ यस्तो कार्य गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ग्रीन सिटीका सञ्चालक नेत्र प्रसाद चौलागाईले ग्रीन सिटी क्षेत्रलाई धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिहरूको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख  गर्नुभयो । कार्यक्रममा धार्मिक अनुष्ठान, भजन–कीर्तन तथा प्रवचनसमेत सञ्चालन गरिएको थिया