इटहरी। इलाममा आउने पर्यटकलाई इलाम सदरमुकामनजिकै रहेको नेपाल भिलेज होमस्टेले निकै आकर्षण गर्ने गरेको छ । यो होमस्टे नयाँ बनेको घर भने होइन, न त यो कुनै सुविधा सम्पन्न होटेल रिसोर्ट नै हो । 

११० वर्षअघि निर्माण भएको पुरानो घरलाई होमस्टेका रूप दिइएपछि देश विदेशका पाहुनाका लागि यो रोजाइ बन्न थालेको छ ।  इलाम नगरपालिका–५, घलेटारमा रहेको यो होमस्टे अहिले व्यवसायी नरेन्द्र गुरुङले सञ्चालन गरिरहनुभएको छ । गुरुङका हजुरबुवा रणवीर गुरुङले ११० वर्षअघि निर्माण गरेको घरमा नाति नरेन्द्रले नौ वर्षयता होमस्टे सञ्चालन गर्दै आउनुभएको हो । 

जाइकाबाट सन् २०१६ मा अवकाश पाएपछि नेरेन्द्रले यो घरलाई होमस्टेका रूपमा सञ्चालन गर्न थाल्नुभएको हो । सदरमुकाम नै भए पनि गाउँको शान्त र सुन्दर वातावरणमा रहेको यो होमस्टेबाट नेपाली भने त्यति परिचित छैनन् ।गुरुङले आफ्नो होमस्टेमा आउने पर्यटकलाई कृषिमा आधारित जीवनशैली, इलामका घुम्ने स्थान माइपोखरी, सन्दकपुरसहितका ताप्लेजुङको पाथीभरा मन्दिरसम्मका पर्यटकीय केन्द्रबारे जानकारी गराउने र पठाउने गरेको बताउनुहुन्छ ।

यो होमस्टेमा विभिन्न सङ्घ संस्थाका कार्यक्रमसमेत हुने गरेका छन् । गाउँको आर्थिक, सांस्कृतिक सम्बन्ध बचाउन यस्तो होमस्टेले सहयोग गर्ने गरेको गुरुङको बुझाइ छ । इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेल पनि घलेटारमा रहेको यो होमस्टेले दिएको सिकाइलाई पर्यटन व्यवसायीले पछ्याउन जरुरी रहेको बताउनुहुन्छ । यातायात व्यवसायी गृष्म सुब्बा पनि पछिल्लो पटक इलाम आउने पर्यटकले सहरबजारभन्दा गाउँ रोज्ने गरेको बताउनुहुन्छ ।

सुब्बा ग्रामीण भेगमा लगानी बढाउन र होमस्टे बनाउन सक्दा अबको पर्यटन गाउँकेन्द्रित देखिएको बताउनुहुन्छ । यता पर्यटनबाट कसरी समृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा आफू केन्द्रित रहेको पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा बताउनुहुन्छ ।

झापासहित इलाम, पाँचथर र ताप्लेजुङसम्म पर्यटनको क्षेत्रमा काम गर्दै आएको पर्यटन कार्यालयले अहिले विशेष गरी होमस्टेलाई पर्यटनमैत्री गराउने विषयमा काम गरिरहेको खतिवडाले बताउनुभयो ।  होटेलको भन्दा होमस्टेमा कम खर्च हुने र शान्त तथा पारिवारिक वातावरणमा पर्यटकले रमाइलो मान्ने गरेको पाइएको खतिवडाको बुझाइ छ ।