इटहरी । कोशी प्रदेशको प्रमुख व्यापारिक तथा शहरी केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरीमा पछिल्ला वर्षहरूमा आगलागीका घटना बारम्बार दोहोरिन थालेका छन्।
जनघनत्वको तीव्र वृद्धि, अव्यवस्थित विद्युतीय संरचना, तथा सावधानीको कमीका कारण सामान्य आगलागीसमेत ठूला दुर्घटनामा परिणत हुने गरेको सरोकारवालाहरू बताउँछन्। विशेषगरी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीले इटहरी उपमहानगरपालिकाको दमकल सेवा नै ठप्प बनाएको छ। आन्दोलनका क्रममा नगरपालिकाका दुवै दमकलमा आगजनी हुँदा ती पूर्ण रूपमा नष्ट भएका थिए।
त्यसयता नगर क्षेत्रमा आगलागी हुँदा तत्काल नियन्त्रणका लागि पर्याप्त साधनस्रोतको अभाव झेल्नुपरेको छ। छिमेकी स्थानीय तहबाट दमकल मगाउनुपर्ने बाध्यताका कारण घटनास्थलमा पुग्न ढिलाइ हुने र क्षति बढ्ने समस्या देखिएको छ। यसै सन्दर्भमा इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेलले दमकल खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार नगरले नयाँ दमकल खरिदका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको छ। चाँडै सेवा पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उहाँले बताउनु भयो।
पोखरेलका अनुसार विगतमा नगरसँग दुईवटा दमकल रहेका भए पनि आन्दोलनका क्रममा दुवै काम नलाग्ने अवस्थामा पुगेका छन्। अहिले एउटा दमकल छिट्टै खरिद गरी सेवा सुचारु गर्ने र आगामी दिनमा थप स्रोत व्यवस्थापन गर्ने योजना रहेको उहाले बताउनु भयो। इटहरीमा हुने अधिकांश आगलागीका घटनामा विद्युत् मुख्य कारणका रूपमा देखिएको नगरपालिकाको तथ्यांकले देखाउँछ। कमजोर तथा पुराना विद्युतीय तार, अनियमित विद्युत् आपूर्ति लाइन आउने–जाने समस्या, तथा विद्युतीय उपकरणको असावधानीपूर्ण प्रयोगले आगलागीका घटना बढाएको प्रवक्ता पोखरेलको भनाइ छ।
उहाँले विशेषगरी पुराना तथा कमसल तारको प्रयोग नगर्न, विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन, तथा घर तथा व्यवसायिक स्थलमा आधारभूत सुरक्षा उपाय अपनाउन आग्रह गर्नुभयो। साथै, ग्यास सिलिन्डर, किचन सामग्री तथा ज्वलनशील पदार्थको सुरक्षित प्रयोगमा ध्यान दिनुपर्ने उहाँले बताउनु भयो। इटहरीमा बढ्दो आगलागी जोखिम नियन्त्रणका लागि दमकल खरिद मात्र पर्याप्त नहुने सरोकारवालाहरूको भनाइ छ।


