इटहरी । आजदेखि कोशी प्रदेशमा तीन दिने इस्टर्न ट्राभल मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरको आयोजनामा हुन लागेको मार्टमा नेपाल, भारत र भुटानका पर्यटन व्यवसायीहरू सहभागी हुने कार्यक्रम संयोजक पुण्य भट्टराईले जानकारी दिए ।

उनका अनुसार मार्टमा पहिलोपटक तीन देशका पर्यटन व्यवसायीहरूबीच आ–आफ्नो व्यवसाय अनुभवको आदानप्रदान हुनेछ । हालसम्म विदेशबाट ८० जनाभन्दा बढी व्यवसायीले सहभागिताका लागि नाम दर्ता गराएको भट्टराईले जानकारी दिए । इटहरीको होटल सोल्टीमा हुने उद्घाटन समारोहमा पूर्व क्षेत्रका पर्यटन व्यवसायी, सरोकारवाल निकायहरूको उपस्थिति हुनेछ । नेपालको पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि मार्टले उल्लेखनीय भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

संयोजक भट्टराईका अनुसार मार्टमा ५० वटा स्टल हुनेछन्, जसमा होटल, ट्राभल एजेन्सीलगायत आपसी छलफल गर्ने र पर्यटन आदानप्रदान गर्ने मौका दिइनेछ, जसलाई बीटूबी अर्थात् विजनेस टू विजनेज मोडेल भनिन्छ । नेपालका सम्भाव्य क्षेत्रका बारेमा भारत र भुटानाका व्यवसायीहरूले जानकारी लिने र नेपालका व्यवसायीहरूले पनि ती देशको पर्यटकीय गन्तव्यको बारेमा जानकारी लिएर व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य मार्टको रहेको उनले जानकारी दिए ।

उनले छिमेकी मुलुकका व्यवसायीलाई होटल सोल्टी, होटल रमदा, होटेल नेपालीरीलगायतको अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिए । यसका साथै पूर्वी क्षेत्रका विभिन्न पर्यटकीय र ऐतिहासिक धार्मिक गन्तव्यको समेत भ्रमण गराइने जानकारी दिए ।