काठमाडौं । नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा विरोध जनाएको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमा तरुण दलले उक्त पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै घोर भर्त्सना गरेको हो। संगठनले यस्ता कदमले लोकतान्त्रिक मूल्य, कानुनी राज्य र विधिको शासनमाथि प्रत्यक्ष प्रहार हुने चेतावनी दिएको छ।
विज्ञप्तिमा वर्तमान सरकारले जनताको समर्थन र विश्वासका आधारमा प्राप्त जनादेशलाई सही ढंगले उपयोग गर्दै देशलाई समृद्धितर्फ अग्रसर गराउनुपर्नेमा जोड दिइएको छ। साथै, एकपक्षीय निर्णयहरूले देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने जोखिम रहेको उल्लेख गरिएको छ। तरुण दलले सरकारलाई यस्ता निर्णयहरू पुनर्विचार गर्न, विधि र प्रक्रिया अनुरूप पारदर्शी र निष्पक्ष ढंगले अघि बढ्न तथा राजनीतिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ।
संगठनका अध्यक्ष विद्वान गुरुङले देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा दायित्व भएको स्मरण गराएका छन्। अन्त्यमा, तरुण दलले शान्ति, स्थिरता र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरूबीच सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रलाई अस्थिरतातर्फ लैजाने गतिविधिको सशक्त विरोध गर्ने प्रतिबद्धता जनाएको छ।


