इटहरी । इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने छात्र र छात्राका लागि अलग–अलग छात्रावास निर्माण हुने भएको छ ।

छात्रावासको शनिबार सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गर्नुभयो। झण्डै पाँच करोड रुपैयाँको लागतमा छात्रावास निर्माण हुने भएको हो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत रकम विनियोजन गरेकोमा पहिलो किस्तामा एक करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै सिलान्यास गरी निर्माण कार्य सुरु गरिएको छ । बहुवर्षीय योजना अन्तर्गत पहिलो चरणमा छात्र र छात्राका लागि छुट्टाछुट्टै एकतले भवन निर्माण गरिनेछ, जसमा दुवैतर्फ १४÷१४ वटा कोठा रहने व्यवस्था गरिएको छ ।

  निर्माणका लागि चारुमति कन्ट्रक्सन प्रालि, वानेश्वर, काठमाडौंले ठेक्का पाएर काम सुरु गरेको हो। ठेकेदार जीवन तिम्सिनाका अनुसार, पहिलो चरणको काम २०८४ पुस मसान्त भित्र पूरा गर्ने सहमति भएको छ । क्याम्पसले विद्यार्थीहरुको शैक्षिक अभिवृद्धि गर्ने विभिन्न योजना ल्याउने क्रममा छात्रावासलाई पनि एउटा महत्वपूर्ण पक्षको रुपमा लिएको अध्यक्ष केसीले बताउनुभयो । बहुवर्षीय योजना अन्तर्गत बन्ने छात्रा वास तीन तल्लाको हुनेछ । छात्रावास निर्माण भएपछि पूर्वी पहाडी जिल्ला र मधेश प्रदेशका विद्यार्थीहरुले  डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुने छ ।

विशेषगरी, दुर्गम तथा आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीलाई शिक्षामा पहुँच पु¥याउन छात्रावासले लाभ पुग्ने सहायक क्याम्पस प्रमुख सञ्जिव यादवले बताउनुभयो  । छात्रावासले गर्दा विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । पछिल्लो समय, जनता क्याम्पसमा पढ्न आउने विद्यार्थीका लागि सातवटा बस सेवा सञ्चालन गरिएको छ र विद्यार्थीहरुलाई निःशुल्क सेवा प्रदान गरिँदै आएको छ ।