इटहरी । रैथाने खाना र संस्कृतिको प्रवर्दन गरी पर्यटन विकास गर्ने उद्देश्यका साथ भोजपुरको चखेवामा रैथाने खाना महोत्सव आयोजना हुने भएको छ ।

टेम्केमैयुङ गाउँपालिका, पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा मुन्दुम पदमार्ग अन्तर्गतको पर्यटकीय क्षेत्र चखेवामा यही चैत्र ३० गतेदेखि नयाँ वर्ष २०८३ सालको बैशाख २ गतेसम्म खाना महोत्सव साथै सांस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।

महोत्सव आयोजना हुने विषयमा पत्रकार सम्मेलनको गरी जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा स्थानीय रैथाने खाना र कृषि उत्पादनको प्रर्वद्धन तथा बजारीकरण साथै मुन्दुम पदमार्गको पर्यटन प्रर्वद्धनलाई जोड दिएर महोत्सवको आयोजना गरिएको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष बिवेक कुलुङ राईले जानकारी दिनुभयो । महोत्सवले रैथाने खाना प्रवद्र्धन, पर्यटन विकास र स्थानीय अर्थतन्त्र सुधारमा समेत टेवा पुग्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले विश्वास व्यक्त गर्नु भयो।

महोत्सवमा २० वटा स्टलहरु कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरुको स्टल र स्थानीय परिकारको स्टलहरु कोदो, फापर, भुटेको मकै, गुन्द्रुक, सिस्नोसँगै स्थानीयस्तरमा पालिएका भेडा, सुँगुर, कुखुरा लगायतको परिकार राखिने बताईएको छ । सरकारले देशभित्र घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम पदमार्ग र सो क्षेत्रमा रहेको पर्यटकीय स्थल चखेवा भञ्ज्याङसंगै टेम्केमैयुङ लगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महोत्सवले टेवा पुग्ने बताईएको छ । यो संगै मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु संचालन गर्दे आईरहेको छ ।