इटहरी । वराहक्षेत्र नगरपालिका क्षेत्रमा क्रियाशील चक्रघट्टी जेसिजद्वारा महिला सशक्तिकरण तथा नेतृत्व क्षमता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
मंगलबार आयोजित उक्त कार्यक्रम सप्तकोशी बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा विद्यार्थीहरूलाई लक्षित गरिएको थियो। कार्यक्रममा ३६ जना छात्राहरूको सहभागिता रहेको थियो। क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल जेसिज क्षेत्र ‘क’ का तालिम संयोजक लक्ष्मी वराह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने क्याम्पस प्रमुख सुशील कोइराला विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।
कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक तारा गिरी तथा जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराईले सहजीकरण गर्नुभएको थियो। चक्रघट्टी जेसिजका अध्यक्ष शरणकुमार लिम्बुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरू तथा जुनियर जेसिजका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव अर्जुन तामाङ (शिशिर) ले गर्नुभएको थियो।


