इटहरी । पूर्वी नेपालको महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा विकास भइरहेको मुन्दुम पदमार्गको निर्माण कार्य २०८५ सालसम्म निरन्तर सञ्चालन हुने भएको छ ।

निर्माण कार्य सम्पन्न भएपछि पदयात्रा गर्न आउने पर्यटकहरूलाई यात्रा गर्न अझ सहज हुने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। पूर्वी नेपालका चार जिल्ला  भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बुलाई समेट्ने प्रसिद्ध मुन्दुम पदमार्ग पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा किराँती समुदायको मौलिक परम्परामा आधारित यस पदमार्गले नेपालमै अद्वितीय पदयात्रा अनुभव प्रदान गर्ने सम्भावना बोकेको छ । यो पदमार्ग भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्याङबाट सुरु भई संखुवासभाको साल्पासिलिछो गाउँपालिका अन्तर्गत पर्ने सिलिचुङ डाँडासम्म पुग्छ ।

करिब १ सय ५३ किलोमिटर लम्बाइ रहेको यस पदमार्गमा यात्राका क्रममा पर्यटकहरूले टेम्के डाँडाबाट देखिने मनोरम हिमालय श्रृंखला, हाँसपोखरी, साल्पा पोखरी तथा सिलिचुङ डाँडा लगायत दर्जनौँ आकर्षक प्राकृतिक तथा धार्मिक स्थलहरूको अवलोकन गर्न सक्छन्।

हाल पदमार्ग क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै आवास, खानेपानी तथा होमस्टे सेवा विस्तार भइरहेको छ । विभिन्न गाउँपालिकाहरूले सामुदायिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय स्तरमै गोठ, होमस्टे र विश्रामस्थल निर्माण गरिरहेका छन्।

यस पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन क्रमशः बढ्दै गएको स्थानीय सरोकारवालाहरूले बताएका छन्। मुन्दुम पदमार्ग पूर्ण रूपमा निर्माण सम्पन्न भएपछि पूर्वी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।