इटहरी । धनकुटा नगरपालिका–१ र ३ जोड्ने निबुवा खोलामा स्थानीय समाजसेवी द्रोर्ण प्रसाद गुरागाईंको सहयोगमा होम पाइप लगाइएको छ। समाजसेवी गुरागाईंले आवश्यक सामाग्री खरिद र ढुवानी गरिदिएपछि खोलामा होम पाइप स्थापना गरिएको हो।

यो खोलामा वाल निर्माण गरी होम पाइप राखिएपछि साना र ठूला दुवै यातायातका साधन वारपार गर्न सहज हुने स्थानीय बताउँछन्। करिब ३९ फिट लम्बाइ, बिच भाग ८ फिट र छेउछेउ १३ फिट ढलान गरेर पाइप स्थापना गरिएको छ। होम पाइप निर्माणका लागि आवश्यक रड, सिमेन्ट, दुईवटा पाइप र अन्य सामग्री खरिद तथा ढुवानी समाजसेवी गुरागाईंले गरिदिनुभएको छ। खोलामा पाइप राख्न एक सयभन्दा बढी स्थानीयले श्रमदानमार्फत वाल निर्माणमा सहयोग पु¥याएका छन्।

धनकुटा बिहिबारे हाट–मालबासे–मधुगंगा सडकखण्डमा पर्ने यो खोलामा वर्षौंदेखि होम पाइप वा पुल नहुँदा स्थानीय लामो समयदेखि सास्ती भोग्दै आएका थिए। पहिले बासबाट बनाइएको अस्थायी पुलमार्फत वारपार गर्नुपथ्र्यो। अब पाइप लगाउँदा यात्रु र सवारी साधन सञ्चालनमा सहजता बढेको छ।

समाजसेवी गुरागाईंले आफ्नो खर्च सार्वजनिक नगरी सेवा भावबाट काम गरेको बताए। तत्कालिन भिरगाउँ गाविस ९धनकुटा नगरपालिका–२० अन्तर्गत रहेको यो क्षेत्रका लागि नगरपालिकाले करिब २० लाख रुपियाँको लागत अनुमान गरेर स्टिमिट निकालेको थियो। तर आवश्यक सामग्री समाजसेवीले उपलब्ध गराएपछि बाँकी काम स्थानीयले श्रमदानमार्फत सम्पन्न गरेका छन्। स्थानियले वर्षायाममा खोलामा बाढी आउँदा वारपार गर्न कठिनाइ हुने गुनासो गर्दै आएका थिए। 

यो सडक मध्यमार्गी भए पनि धार्मिक स्थल मधुगंगा धाम जाने मार्गमा पर्ने भएकाले सरकारको ध्यान आवश्यक रहेको स्थानीयको भनाइ छ। हाल यस सडक हुँदै दैनिक १५–२० वटा टेम्पो र ४–५ वटा साना सवारी साधन सञ्चालन हुन्छन्। होम पाइप निर्माणपछि करिब ६ सय घरपरिवार लाभान्वित हुने अनुमान गरिएको छ।