इटहरी । बराहक्षेत्र नगरपालिका अन्तर्गत सञ्चालित नगर अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु भएसँगै स्थानीयवासीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल परिसरमा सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमार्फत मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो। अस्पतालले नियमित रूपमा विशेषज्ञ चिकित्सक ल्याई मासिक रूपमा मोतियाबिन्दुको परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।

नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टका अनुसार बिहीबार एकै दिन ४५ जनाभन्दा बढी बिरामीको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ । यस सेवाबाट स्थानीयवासीले सहज र सुलभ रूपमा उपचार पाउन थालेका छन्। वराहक्षेत्र नगरपालिकाको समन्वय तथा सहकार्यमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

नगरपालिकाले आर्थिक रूपमा विपन्न तथा अस्पताल पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत अहिले नगर अस्पतालबाटै मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सेवा सुरु गरिएको नगर प्रमुख कार्कीले बताउनुभयो।