इटहरी । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय भोजपुरको समन्वय तथा टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा क्षयरोग टीबीको जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गर्दै टीबी एआई एक्सरे प्रविधि मार्फत स्क्रिनिङ शिविर सम्पन्न गरिएको छ ।

शिविरमार्फत समुदायमा लुकेर बसेका सम्भावित क्षयरोग बिरामी पहिचान गर्ने उद्देश्यका साथ सक्रिय खोजपडताल गरिएको थियो। एआई प्रविधियुक्त एक्स–रे परीक्षणबाट स्थानीय बासिन्दाको स्वास्थ्य जाँच गरी आवश्यक परामर्श तथा थप परीक्षणका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोगको प्रारम्भिक पहिचान तथा उपचारमा सहजता पु¥याउने अपेक्षा गरिएको छ । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हर्कराज राईले शिविरले स्थानीय जनतालाई स्वास्थ्य परीक्षणमा सहजता थपेको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले गाउँस्तरमै रोगको पहिचान र सचेतना बढाउन महत्वपूर्ण सहयोग पुग्नेछ ।