इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले ओखलढुङ्गा र सोलुखुम्बुको जिल्ला अस्पतालहरू, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र बिरामीमैत्री बनाउन निर्देशन दिनुभएको छ ।
दुवै जिल्लाका विभिन्न स्वास्थ्य अस्पताल तथा केन्द्रहरूमा अनुगमन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो। अनुगमनका क्रममा मन्त्री लिम्बुले स्वास्थ्य सेवा सुधार केवल प्रक्रिया वा कागजी व्यवस्थापनको विषय नभई बिरामीको अनुभव, विश्वास र सेवाप्रतिको भरोसासँग जोडिएको विषय भएको बताउनुभएको छ । उहाँले अस्पतालहरूमा देखिएको समस्याहरू पहिचान गरी आगामी वर्ष थप सुदृढीकरण गर्दै विद्यामान समस्याहरूलाई दिगो व्यवस्थापन र समाधान गर्न अनुगमन तथा निरीक्षणको कार्यलाई निरन्तरता दिइरहनु भएको उहाँको निजी सचिवालयका सदस्य गिरीस साम्वाले जानकारी दिनुभएको हो ।
उहाँले हाल १५ बेडको सोलुखुम्बु जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नतिको लागि स्वीकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले अस्पतालमा आउने सेवाग्राहीले अनावश्यक झन्झट र अन्योल भोग्नु नपर्ने वातावरण सिर्जना गर्न , न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्न, उपलब्ध जनशक्ति, औषधि र उपकरणको समुचित व्यवस्थापन गर्न जोड दिदैं आउनुभएको छ । यसैगरी उहाँले आकस्मिक तथा आपतकालीन सेवा प्रभावकारी बनाउन, सेवा व्यवहारमा संवेदनशीलता र सहानुभूति देखाउन तथा प्रविधिको प्रयोग मार्फत सेवा छिटो, सरल र पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको छ ।
साथै, कमजोरीलाई दोष खोज्ने आधार नभई सुधारको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै निरन्तर सुधारको अभ्यास गर्न आग्रह गर्नुभएको छ । मन्त्री लिम्बुले साना योजना, समन्वय र सकारात्मक सोचका साथ अघि बढेमा मात्रै गुणस्तरीय र विश्वासिलो स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।


