इटहरी । मोरङको उर्लाबारी नगरपालिकाको कृषि शाखाले पहिलोपटक सञ्चालन गरेको ‘शून्य खनजोतमा मकै खेती कार्यक्रम’ सफल भएको छ।
नगरपालिकाले नगरका सात स्थानमा कृषक समूह र किसानसँग समन्वय गरी प्रयोगात्मक खेती गरेको थियो। तीमध्ये वडा नं। ६ को जनज्योति कृषक समूहले गरेको शून्य खनजोत विधिको मकै खेती सबैभन्दा राम्रो देखिएको छ। अन्य स्थानमा भने चैत दोस्रो सातामा परेको असिना–पानीले क्षति पुर्याएको छ। नगरपालिकाको कृषि विकास शाखाको सहयोगमा सात कट्ठा जग्गामा मकै खेती लगाइएको कृषक समूहका अध्यक्ष पदमप्रसाद रिजालले बताउनुभयो। गत मङ्सिर २८ गते यान्त्रिक प्रविधि(सिडड्रिल मेसिन) बाट मकैको बीउ र मल एकैपटक रोपिएको कृषि विकास शाखाका प्रमुख अम्बिकाप्रसाद लुइँटेलले जानकारी दिनुभयो।
शाखा प्रमुख लुइँटेलका अनुसार नगरपालिकाले मल, बीउ, विषादी र प्रविधि सहयोग गरेको हो। उहाँले खनजोत गरेर लगाइएको बालीभन्दा यो विधिबाट अझ राम्रो उत्पादन हुने देखिएको बताउनुभयो। अब पाक्न मात्र बाँकी रहेको र घोगामा दाना लागिसकेको उहाँको भनाइ छ। कृषि शाखा प्रमुख लुइँटेलका अनुसार नगरपालिकाले नगरका सात स्थानमा प्रयोगात्मक खेतीका लागि एक लाख रुपियाँ विनियोजन गरेको थियो। सोही बजेटबाट वडा नं।१, २, ४, ६, ८ र ९ मा गरी २५ कट्ठा क्षेत्रफलमा प्रयोगात्मक खेती गरिएको हो। जसमध्ये वडा नं। ६ र १ मा राम्रो उत्पादन देखिएको छ भने अन्य स्थानमा असिना–पानीले बाली बिगारेको छ।


