इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकामा ‘कम्युनिटी विपद् फस्ट रेस्पोन्डर’ सम्बन्धी तीनदिने विपद् प्रतिकार्य तालिम सम्पन्न भएको छ ।

नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त तालिममा प्रत्येक वडाबाट दुई–दुई जना सहभागी भई रेडक्रस र स्काउटसहित संयुक्त अभ्यास गरिएको थियो । वडा नम्बर ८ स्थित भुल्के मन्दिर परिसरमा तीन दिनसम्म सञ्चालन भएको तालिमको उद्घाटन सत्र भने शिक्षा निकेतन माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो ।

तालिममा सहभागीहरूलाई सशस्त्र प्रहरी बल लक्क्षीमार्गका प्रहरी निरीक्षक रवि खकुराल र सशस्त्र प्रहरी नायब उपरीक्षक हेमराज न्यौपानेले विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा वर्षायाममा कटान, डुबान, चट्याङ, हात्ती आतंक, सर्पदंश, हावाहुरी, आगलागी नियन्त्रण, वन डढेलो व्यवस्थापन तथा डोरी प्रयोगमार्फत उद्धार (रोप रेस्क्यु) जस्ता व्यवहारिक प्रशिक्षण दिइएको थियो ।

त्यस्तै विपद् व्यवस्थापन शाखा प्रमुख वासुदेव अधिकारीका अनुसार प्राथमिक उपचार, सीपीआर, चोटपटक तथा रक्तस्राव नियन्त्रण, पानीमा खोज तथा उद्धार, तीव्र बहावमा उद्धारलगायतका विषयमा पनि अभ्यास गराइएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख केदारप्रसाद गुरागाईंले विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।