इटहरी ।  सामान्य लापरवाहीले पनि विद्युतीय दुर्घटना भई ज्यान जान सक्ने जोखिमप्रति सचेत गराउँदै विराटनगरमा प्रभातफेरीसहितको सचेतनामूलक कार्यक्रम गरिएको छ ।

३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले संयुक्त रूपमा यस्तो सन्देश प्रवाह गरेका हुन् । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युत्‌को सदुपयोग गरौं’ भन्ने नाराका साथ निकालिएको प्रभातफेरीमा सहभागीहरूले सानो असावधानीले ठुलो मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएका थिए । कार्यक्रममा बोल्दै प्राधिकरणको विराटनगर वितरण केन्द्रका इलेक्ट्रिकल इन्जिनियर सुवेध ठाकुरले विद्युत्‌को प्रयोग गर्दा हुने सामान्य असावधानीले पनि मानिसको ज्यान जान सक्ने खतरा औंल्याउनुभयो ।

त्यसैगरी, सहायक प्रबन्धक माधवप्रसाद नगरकोटीले विद्युतीय उपकरण प्रयोग गर्दा वा मर्मत गर्दा सुरक्षात्मक सामग्रीको प्रयोगमा हेलचेक्य्राइँ नगर्न सुझाव दिनुभयो । उहाँले दक्ष प्राविधिकको सल्लाह बिना गरिने विद्युतीय काम जोखिमपूर्ण हुने भएकाले सुरक्षाका उपायमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले विद्युतीय दुर्घटना न्यूनीकरणका लागि सुरक्षित कार्य संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युत् सेवामा संलग्न कर्मचारी र उपभोक्ता दुवैले आ–आफ्नो तर्फबाट जिम्मेवारी र सावधानी अपनाए मात्र ज्यान जाने जस्ता दुःखद घटना रोक्न सकिने बताउनुभयो । विराटनगरका विभिन्न भागको परिक्रमा गरेको उक्त र्‍यालीमा विद्युतीय सामग्रीको सही सदुपयोग र सुरक्षित प्रयोगका उपायबारे जनचेतना फैलाइएको थियो ।