इटहरी । नयाँ वर्ष २०८३ को अवसर पारेर तेह्रथुमको छथर गाउँपालिका–६ सुदापस्थित धार्मिक तथा पर्यटकीय स्थल चाङलुङ गुफामा ‘स्व। गोद्रिलाल आङलाबाङ ढाडे स्मृति रनिङ कप’ भलिबल प्रतियोगिता चैत्र ३० गतेदेखि आयोजना हुने भएको छ।

चाङलुङ गुफा मेलाबजार व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताले नयाँ वर्षको उत्साहसँगै खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको समितिका अध्यक्ष शन्तकुबिर लिम्बुले बताउनुभयो। उहाँका अनुसार स्थानीय स्तरमा खेल गतिविधि बढाउँदै चाङलुङ गुफाको प्रचारप्रसारमा टेवा पुर्‍याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

स्वर्गीय गोद्रिलाल आङलाबाङको सम्झनामा गत वर्षदेखि खुला वडा स्तरीय भलिबल प्रतियोगिता सुरु गरिएको ‘स्व। गोद्रिलाल स्मृति कप’का संस्थापक अनिल आङलाबाङले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५० हजारसहित ‘स्व। गोद्रिलाल स्मृति कप २०८३’ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगितामा तेह्रथुम र धनकुटा जिल्लाका विभिन्न टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ। भलिबल प्रतियोगितासँगै भव्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ, जसअन्तर्गत केलाङ, धाननाच तथा स्थानीय रैथाने संस्कृतिहरू प्रस्तुत गरिने कार्यक्रम छ। सांगीतिक कार्यक्रममा गायक इन्द्रसुशील चोङबाङ, गायिका नेरन्ता नेम्बाङ र टाट्नो संगीत यात्राको प्रस्तुति रहने जनाइएको छ।

छथर गाउँपालिकाको सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगिताले चाङलुङ गुफाको धार्मिक तथा पर्यटकीय महत्व उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।