इटहरी । भारत तथा नेपालका विभिन्न स्थानबाट चोरी पैठारी गरी ल्याई सञ्चालन गरिएका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा मातहतका निकायहरूको संयुक्त चेकिङ टोलीले विशेष सूचनाको आधारमा ती सवारी साधनहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आवश्यक कागजात बिना तथा नक्कली नम्बर प्लेट प्रयोग गरी कानूनविपरीत सञ्चालनमा रहेका चार वटा चारपाङ्ग्रे सवारी साधन बरामद गरिएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूमा २०८२ चैत १० गते सुनसरीको इटहरी चौकबाट प्र।१(०१(००१ च ९९१२ नम्बरको सेतो रंगको टाटा कम्पनीको पन्च निजी कार, २०८२ चैत ५ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ लौकहीबाट प्रदेश २(००२ च ४०९८ नम्बरको सेतो रंगको महिन्द्रा बलेरो पिकअप, २०८२ चैत २४ गते झापाको बिर्तामोड नगरपालिका–५ बाट बा १३ च ७७६ नम्बरको डार्क ग्रे मेटालिक रंगको हुण्डाई आई २० कार र सोही मितिमा झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीबाट एसके ०१ पीए ३०२९ नम्बरको भारतीय मारुती सुजुकी कार रहेको छ।
उक्त भारतीय नम्बर प्लेट भएको सवारीको आरसी बुकमा उल्लेखित इन्जिन र चेसिस नम्बर फरक भेटिएको प्रहरीले जनाएको छ।नियन्त्रणमा लिइएका सबै सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय, कोशी ब्यारेज सुनसरीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।


