इटहरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको प्रजनन रुग्णता सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय ७७ जनाको स्कृनिङ भएको छ ।

जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा भएको सो शिविर चैत्र २४ गतेदेखि ४ सम्म सञ्चालन गरिएको हो । पथरी शनिश्चरे वडा नं. ६, ७ र १० वडाको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिलाहरुमा गुप्त रोगहरु निदान भई उचित परामर्श, उपचार तथा जटिल प्रकारका समस्याहरूको सही व्यवस्थापन गरी शल्यक्रियाको लागि सवन्धित अस्पतालहरुमा निःशुल्क अपरेसन गर्ने ब्यवस्थापन मिलाइएको स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन गरिएको उक्त शिविरमा आङ खस्ने समस्याका १२३ जना बिरामी भेटिएका थिए । साथै, सम्भावित स्तन क्यान्सरका ३ जना, निःसन्तान भएका १० दम्पती र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि गरिएको भीआईए परीक्षणमा ४७७ जनामध्ये ३ जना पोजेटिभ देखिएका थिए । ती तीनै जनाको कोल्ड कोगुलेसन थेरापी मार्फत उपचार गरिएको थियो ।

त्यस्तै, पाठेघरको मुखको क्यान्सरको सम्भावित २ जना भेटिएको थियो । स्वास्थ्य शाखाका अनुसार भी.आई.ए. परीक्षणबाट पाठेघरको मुखको क्यान्सरको सम्भावित अवस्था पहिचान हुन नसकेपछि १४ जना महिलाको सेम्पल थप परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालयमा एच.पी.भी. डी.एन.ए. जाँचका लागि पठाइएको छ। साथै, पाठेघर खस्ने समस्या भएका ७ जना महिलामा रिङ पेसरी लगाइएको छ भने ३ जना महिलामा प्रसब फिस्टुला भेटिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

शिविरको समापन कार्यक्रम वडा नं. १० को आधारभूत स्वास्थ्य केन्द्रमा गरिएको थियो । सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडाध्यक्ष जीवन खतिवडा, स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरे, स्वास्थ्य कार्यालय झापाका वृजकुमार दास, प्रदेश तालिम केन्द्र धनकुटाका सुरेन्द्र्र राजम्या, मिलन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।