झापा/ कोशी प्रदेशका विभिन्न ६ स्थानमा आकस्मिक सेवा केन्द्र स्थापना गरिने योजना अगाडि बढाइएको छ। झापाको अर्जुनधारा, मोरङको रंगेली, धनकुटाको हिले, तेह्रथुमको आठराई र खोटाङमा गरी हालसम्म ५ स्थानमा स्थापना प्रक्रिया अघि बढिसकेको छ भने सुनसरीमा स्थापना हुने सेवा केन्द्र भने अझै अन्योलमा परेको छ।

स्वीस सरकार तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा स्थानीय तहहरूको २० प्रतिशत लागत निर्माण सहकार्यमा यी सेवा केन्द्रहरू स्थापना गरिनेछन्। प्रत्येक केन्द्रमा कम्तीमा ३ वटा वारूण यन्त्र (दमकल), शववाहन, उद्धारका सामग्री तथा ‘वाटर बोट’ लगायतका आवश्यक उपकरणहरू उपलब्ध गराइने जनाइएको छ।

बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने यी सेवा केन्द्रहरूको लागत प्रत्येकमा करिब ८ करोडदेखि १४ करोड रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ। तराई क्षेत्रमा ३ स्थानमा केन्द्र स्थापना गर्ने योजना रहे पनि सुनसरीको कोशी गाउँपालिकाले २ करोड रुपैयाँ बराबरको ‘इनिसिएसन’ बजेट विनियोजन नगर्दा सो योजना अघि बढ्न सकेन र बजेट मन्त्रालयमा फिर्ता गरिएको छ।

उक्त योजना सुनसरीमै केन्द्रित गरी इटहरीमा पनि सञ्चालन गर्न सकिने विकल्प रहेको बताउँदै आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सम्बन्धित स्थानीय तहले पहल गरेमा प्रक्रिया अगाडि बढाउन सकिने जानकारी दिनुभयो।

यसैबीच, स्थापना प्रक्रिया अघि बढेका सबै आकस्मिक सेवा केन्द्रहरूको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरिएको मन्त्री पराजुलीले बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा सेवा केन्द्रहरूको प्रभावकारी सञ्चालनका लागि आवश्यक तयारी तीव्र बनाइनेछ।

“हामीले कोशी प्रदेशका विभिन्न स्थानमा आकस्मिक सेवा केन्द्र स्थापना गर्ने कामलाई प्राथमिकतामा राखेका छौं। केही स्थानमा काम अगाडि बढिसकेको छ भने सुनसरीमा स्थानीय तहको पहल आवश्यक देखिएको छ। आवश्यक बजेट र समन्वय भएमा त्यहाँ पनि चाँडै प्रक्रिया अघि बढाउन सकिन्छ। यसले विपद् व्यवस्थापन र आकस्मिक उद्धार कार्यलाई थप प्रभावकारी बनाउनेछ।” 


निर्माणाधीन सेवा केन्द्र अनुगमन गर्दै मन्त्री पराजुली सहितको टिम तस्वीरहरू ...

IMG-20260413-WA0080IMG-20260413-WA0073IMG-20260413-WA0063IMG-20260413-WA0057