इटहरी । कोशी प्रदेशका विभिन्न ६ स्थानमा आकस्मिक सेवा केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ ।
हालसम्म पाँच स्थानमा स्थापना प्रक्रिया अगाडि बढिसकेको छ भने सुनसरीमा भने आवश्यक बजेट व्यवस्थापन नहुँदा योजना अन्योलमा परेको छ । प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वीस सरकारको सहकार्यमा स्थानीय तहको २० प्रतिशत लागत साझेदारीमा यी सेवा केन्द्रहरू स्थापना गरिने भएका हुन्।
झापाको अर्जुनधारा, मोरङको रंगेली, धनकुटाको हिले, तेह्रथुमको आठराई र खोटाङमा सेवा केन्द्र स्थापना प्रक्रिया अघि बढिसकेको छ । प्रत्येक केन्द्रमा कम्तीमा तीन वटा दमकल, शववाहन, उद्धार सामग्री तथा वाटर बोट लगायतका उपकरण रहने व्यवस्था गरिएको छ । बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने केन्द्रहरूको लागत प्रति केन्द्र करिब ८ करोड देखि १४ करोड रुपैया सम्म लाग्ने अनुमान गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार सबै केन्द्रहरूको अनुगमन तथा निरीक्षण सम्पन्न भइसकेको छ र आगामी दिनमा प्रभावकारी सञ्चालनका लागि तयारी तीव्र बनाइनेछ । पहिले मुख्यमन्त्री अत्यावश्यकीय सेवा केन्द्रका रूपमा अघि बढाइएको कार्यक्रमलाई पुनः संरचना गरी अहिले आकस्मिक सेवा केन्द्रका रूपमा विकास गरिएको हो ।
विपद् तथा आपतकालीन अवस्थामा दमकल, एम्बुलेन्स र प्रहरी भ्यानजस्ता सेवा एकीकृत रूपमा तत्काल उपलब्ध गराउने लक्ष्य राखिएको मन्त्री पराजुलीले बताउनुभयो । पहिलो चरणमा तराईका तीन र पहाडका तीन जिल्लामा केन्द्र स्थापना गर्ने योजना रहे पनि सुनसरीमा भने स्थानीय तहबाट २ करोड रुपैयाँ बराबरको प्रारम्भिक बजेट विनियोजन नहुँदा योजना अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सुनसरीको विकल्पका रूपमा इटहरीलाई केन्द्र बनाएर पनि सञ्चालन गर्न सकिने बताएको छ ।


