इटहरी । मुन्दुम पदमार्ग प्रवद्र्धन तथा विकासलाई लक्षित गर्दै भोजपुर जिल्लाको चखेवा क्षेत्रमा अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन आयोजना गरिएको छ ।
सरकारले प्राथमिकतामा राखेको पर्यटकीय गन्तव्यका रूपमा रहेको मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। सोमबार देखि चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा चखेवामा सुरु भएको रैथाने खाना महोत्सवअन्तर्गत मंगलबार अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा नेपालका सातै प्रदेशका प्रतिनिधिसँगै भारत, भुटान, जापान, दक्षिण कोरिया, नेदरल्याण्ड र संयुक्त राज्य अमेरिका लगायत करिब एक दर्जन देशका स्रष्टाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । संस्कृतिविद् भक्त राईका अनुसार मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सम्मेलन तथा पदयात्रा आयोजना गरिएको हो। यसले मुन्दुम पदमार्गसँगै चखेवा भञ्ज्याङ, टेम्क र मैयुङ क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
मुन्दुम पदमार्गलाई दिगो रूपमा अगाडि बढाउने प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रम गरिएको टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेतले बताउनु भयो । कार्यक्रमले मुन्दुम पदमार्गको विकास र प्रवद्र्धनका लागि महत्त्वपूर्ण सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि भोजपुर जिल्लाका प्रदेश सभा सांसद तथा जिल्ला अर्थ समिति संयोजक विनोद वान्तावाले बताउनुभयो ।
कार्यक्रममा कैलाश कुमार आले मगर, दौलथ कुलुङ, किरण राई, रमा राई, दीप श्रेष्ठ, टेम्केमैयुङ गाउँपालिकाका वडाध्यक्षहरू तथा खोटाङ जिल्लाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। महोत्सवमा रैथाने खानेकुराका २० वटा तथा कृषिसम्बन्धी विभिन्न स्टलहरू रहेका छन्। चखेवामा जारी रैथाने खाना महोत्सवको समापन वैशाख २ गते बुधबार हुने आयोजकले जनाएको छ ।


