इटहरी । ठाडाराई अधिकारी सेवा समाजले आफ्नो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि पुराण आयोजना गर्ने भएको छ ।
झापाको सुरुङ्गा कोटीहवन स्थित समाजको आफ्नै भवनमा आगामी बैशाख ५ गतेदेखि १३ गते सम्म ९ दिने नारद महापुराण महायज्ञ हुन लागेको हो । देश विदेशमा छरिएर रहेका सम्पूर्ण ठाडाराई अधिकारी बन्धुहरूलाई एउटै सूत्रमा बाँध्ने, आपसी भेटघाट गराउने र बंशावली खोज अनुसन्धान गर्ने उद्देश्यले २०५० सालमा डम्बर बहादुर अधिकारीको नेतृत्वमा बंशावली खोजबिन समिति नामको संस्था दर्ता गरी २ वर्ष लगातार पुराण लगाइयो ।
विविध कारणले यसलाई निरन्तरता दिन सकिएन । २०६७ साल फाल्गुण ८ गते पुनः ठाडाराई अधिकारी सेवा समाज नामक संस्था दर्ता गरी कोटीहवन सुरुङ्गा झापामा ठाडाराई अधिकारी कुञ्ज नामक आफ्नै भवन निर्माण गरी सो कार्यलाई निरन्तरता दिंदै आएको छ । ठाडाराई अधिकारी सेवा समाजले आफ्नो भवनबाट बन्धुहरूको हितमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
पुराण धार्मिक अनुष्ठान मात्र नभएर, छरिएर रहेका बन्धुहरूबीच एकता र आत्मीयता बढाउने एउटा महत्त्वपूर्ण अवसर भएको अध्यक्ष दान बहादुर अधिकारीले बताउनु भयो । देश भित्र र बाहिर गरि सधैं झै २० हजार बढी अधिकारी बन्धु बान्धवहरुको सहभागीता रहने जनाइएको छ । पुराणको अवसरमा जो कोहिको निशुल्क व्रर्तबन्ध, चौरासी, जेष्ठ नागरिक सम्मान गर्ने पुराण समितिको संयोजक गोमा अधिकारीले जानकारी दिनु भयो ।
महापुराणको व्यवस्थापन तयारीका बारेमा जानकारी दिँदै संस्थाका सचिव धुर्व कुमार अधिकारीले अहिले तयारी पूरा भइसकेको बताउनुभयो । संस्थाले हाल आफ्नो भवन वरिपरिको क्षेत्रको मर्मत सम्भार गर्नुका साथै कुलदेवता (कुलदियो) मन्दिर निर्माण लगायतका कार्यहरू पनि गरिरहेको छ ।


