इटहरी । तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ ।
नवौँ फालेलुङ चौँरी पर्यटन महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा तीन सिमाना जनसेवा समाज, मेमेङलाई पराजित गर्दै सुर्योदय विजेता बनेको हो । उपाधिसहित सुर्योदयले ४० किलो चौंरीको घिउ पुरस्कार पायो । उपविजेता तीन सिमाना जन सेवा समाजले २० किलो घिउ पायो । २०७४ सालदेखि निरन्तर आयोजना हुँदै आएको फालेलुङ चौँरी पर्यटन महोत्सव यस वर्ष नवौँ संस्करणमा पुगेको छ ।
चौंरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा महोत्सवका चाररातेमा सञ्चालन हुने गर्छ । पछिल्लो समय सोही अवसरमा यहाँ फुटबल प्रतियोगिता आयोजना गर्न थालिएको हो । छिमेकी मुलुक भारतसँगको सिमावर्ती चाररातेमा आयोजना हुने यो प्रतियोगिा नेपालका उच्च स्थानमा आयोजना गरिने फुटबल मध्येको एक हो । यस वर्षको प्रतियोगितामा नेपाल र भारतका गरी पाँच टोलीको सहभागिता रहेको थियो ।
न्यु वर्षभन्दा फरक रूपमा यसपटक स्थानीय रूपमा उत्पादन हुने चौंरीको दूधबाट बनेको शुद्ध घिउ पुरस्कारका रूपमा दिइएको आयोजक कञ्चनजंघा याक चिज उत्पादक समूहका खेल सह–संयोजक सुजन राईले बताउनुभयो । हाल चौंरी घीउको मुल्य प्रतिकिलो एक हजार रुपियाँ पुगेको छ ।

