इटहरी । रैथाने खाना र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटन विकास गर्ने उद्देश्यले भोजपुरको चखेवामा आयोजना गरिएको रैथाने खाना महोत्सव सम्पन्न भएको छ ।

टेम्केमैयुङ गाँउपालिका , पदमार्गमा आधारित पर्यटन विकास परियोजना टिटिडिपि र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा मुन्दुम टे«ल अन्तर्गतको पर्यटकीय क्षेत्र चखेवामा चैत ३० गतेदेखि सञ्चालन भएको महोत्सव बुधबार सम्पन्न भएको हो । महोत्सवको समापन नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य राजन मुकारूङको प्रमुख आतिथ्यतामा गरिएको थियो ।

समापन अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । स्थानीय रैथाने खाना तथा कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्दै मुन्दुम पदमार्गको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विबेक कुलुङ राईले बताउनुभयो ।

महोत्सवले रैथाने खाना प्रवद्र्धन, पर्यटन विकास तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत सकारात्मक योगदान पुग्ने सरोज बस्नेतले बताउनुभयो । समापन समारोहमा मुन्दुम पदमार्गको पर्यटन विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । महोत्सवमा करिब २० वटा स्टल राखिएका थिए ।

कार्यक्रममा मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राई, टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवि राई , गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, आयोजक संस्थाका पदाधिकारी, कलाकार तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।