इटहरी । १६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड बिजयी भएको छ ।

बिहिबार राती सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीलाई ३–१ गेल अन्तरले पारजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा प्रवेश गरेको हो । बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइजको जीतमा कप्तान फागुराम थारुले २ तथा धिरेन्द्र शाहले १ गोल गरे ।

खेलको पांचौ मिनेटमा फागुरामले पेनाल्टी मार्फत गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । युकेएफसीका दिवश रोयले धिरेन्द्रलाई डि–एरियामा फउल गरेपछी फिफा रेफ्री उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टी प्रहार गर्ने अवशर दिएका थिए । उक्त अवशरलाई फागुरामले सहजै गोलमा परिणत गरे । २३ औं मिनेटमा फागुरामले दोस्रो गोल गरे । उनले बिपक्षी गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए ।

२७ औ मिनेटमा डिफेण्डरको कमजोरीको फाइदा उठाउदै धिरेन्द्रले गोल गरेपछी पहिलो हाफमै टिमले ३–० को अग्रता लिएको थियो । खेलको ५९ औं मिनेटमा युकेएफसीका निवास राणाले १ गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन ।

फागुराम खेलको प्लेयर अफ द म्याच घोषित हुदै नगद १० हजार हात पार्न सफल भए । शुक्रबारको पहिलो सेमिफाइनल खेलमा  युवा समाज र साबिक बिजेता मछिन्द्र फुटबल क्लबबिच खेल हुनेछ । फाइनल खेल बैशाख ७ गते हुनेछ । फाइनल बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ ।