इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ढाका कपडा बुनाई तालिम प्रदान गरिएको छ ।
व्यावसायिक सीप विकास तालिम केन्द्र भद्रपुर, झापाको आयोजना तथा सिदिङ्वा गाउँपालिकाको समन्वय र साझेदारीमा सो तालिम सम्पन्न भएको हो । गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख पुष्पकला वाग्लेका अनुसार पालिकाका विभिन्न वडाका १५ जना महिलालाई ६५ दिने आधारभूत ढाका बुनाई सम्बन्धी सीप सिकाइएको छ । तालिमका लागि आवेदन दिएका इच्छुक महिलाहरूलाई छनोट गरी प्रशिक्षणमा सहभागी गराइएको शाखा प्रमुख वाग्लेले जानकारी दिनुभयो ।
गत शुक्रबार सम्पन्न सो तालिममा सहभागीहरूलाई व्यावसायिक सीप विकास तालिम केन्द्रकी प्रशिक्षक सरस्वती कट्टेलले प्रशिक्षण दिनुभएको थियो । तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रमका बीच प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया ९बन्दना० र निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा उपाध्यक्ष कडरियाले सीप सिकेर आफ्नै उद्यम गर्न इच्छुक महिलाहरूलाई लक्षित गरी यो तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै महिलाहरूको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने विश्वास पालिकाले लिएको छ ।


