इटहरी । वराहक्षेत्र नगरपालिकामा आगामी बैशाख ११ गतेदेखि चौथो संस्करणको ’वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान“ भन्ने नाराका साथ नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको यस प्रतियोगितामा नगरपालिकाका ११ वटै वडाका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । लिग र नकआउट दुवै फरम्याटमा वडा नं ७ स्थित वसन्तऋतु माविको खेलमैदानमा सञ्चालन हुने यस प्रतियोगिताको विजेताले २ लाख २ हजार, उपविजेताले १ लाख १ हजार, तेस्रो हुनेले ५१ हजार र चौथो हुने टोलीले २५ हजार रुपैयाँ सहित चाँदीको ट्रफी प्राप्त गर्नेछन्।
रनिङ्ग शिल्डको नियमअनुसार कुनै पनि टोलीले लगातार तीन पटक प्रतियोगिता जितेमा मात्र उक्त चाँदीको ट्रफी स्थायी रूपमा आफ्नो स्वामित्वमा राख्न पाउने नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिनुभयो। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार, उच्च गोलकर्तालाई ११ हजार र विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
स्थानीय स्तरमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको यस प्रतियोगिताको तयारी स्वरूप शनिबार आयोजित पत्रकार सम्मेलनमा गत वर्षको विजेता वडा नं २ ले ट्रफी हस्तान्तरण गर्नुका साथै गोलाप्रथा द्वारा समूह विभाजन समेत गरिएको थियो ।

