इटहरी । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ ।
विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ । फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरुमै उत्साह बढेको छ । फालोट क्षेत्रमा ०७४ सालअघि १८ वटा चौँरी गोठ रहेकामा अहिले ३१ वटा गोठ रहेका छन् ।
गोठालाहरु नै पर्यटनतर्फ आकर्षित भएका छन् । तर सबै गोठमा गोठबास कार्यान्वयन हुन सकेको छैन । अहिले १०–१२ वटा गोठले मात्रै पर्यटक राख्न सक्छन् । सन्दकपुर आहालदेखि फालोटसम्म रहेका यी गोठमा गरेर करिब १५० मानिस यहाँ बास बस्न सक्दछन् । वार्षिक रुपमा कम्तीमा पाँच हजार पर्यटक आउने गरेको नेपालको भनाइ छ । असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण गोठहरु गाउँतर्फ झारिने हुँदा पर्यटकहरुलाई पुग्न र बास बस्न कठिन पर्ने गरेको छ । पहिले यहाँ चौँरीको घ्यू र छुर्पी मात्रै उत्पादन हुने गरेकामा अहिले चिज उत्पादन गरी बिक्री हुँदै आएको छ । महोत्सवकै कारण चौँरीजन्य सामग्रीले बजार पाएको, सरकारी निकायहरुले सहयोग गर्न थालेका र पर्यटकहरु पुग्न थालेको नेपालको भनाइ छ ।
फालेलुङको चारराते, तीन सिमानालगायत क्षेत्रका चौँरीपालकहरुको समूह कञ्चनजङ्घा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरुमा चौँरीको सङ्ख्यामा अत्यधिक वृद्धि हुँदै गएको छ । चौँरीपालनमै आधारित भएर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ भने पर्यापर्यटनको विकासमा धेरै ठूलो मद्दत पुगेको छ । यसको मुख्य कारण पर्यटकको सङ्ख्या बढ्दै जानु हो । चौँरी महोत्सवले पर्यटक भित्र्याएपछि चौँरीका सामग्रीले राम्रो मूल्य पाउन थालेका छन् । गुरुङका अनुसार चौँरीको हाडखोर पनि बिक्री हुन्छ । सिङ, पुच्छर पनि बिक्री हुन्छ ।
चौँरीका धेरै सामग्री धार्मिकरसांस्कृतिक कार्यमा प्रयोग गरिने हुँदा धेरै माध्यमबाट गोठालाहरुले आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय नयाँ याकहरु ल्याएर चौँरीका नयाँ प्रजातिको विकासको प्रयास भइरहेको छ, जसले चौँरीको सङ्ख्या बढाउँदै लगेको छ । ताप्लेजुङका हिमाली भेग र भूटानबाट याक ल्याएर उन्नत प्रजाति उत्पादनको प्रयास चलिरहेको छ, जसमा अहिलेसम्म ४० बढी चौँरी हुर्किएको गुरुङको भनाइ छ । अब सरकारले चौँरीमा कृत्रिम गर्भाधानमा सहयोग गर्नुपर्ने उहाँको माग छ ।
चौँरीजन्य सामग्रीको बजार पनि सहजै रहेको अध्यक्ष गुरुङले बताउनुभयो । विगत नौ वर्षदेखि नयाँ वर्षको दिन चाररातेमा चौँरी महोत्सव आयोजना हुने गरेको छ । महोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारत, भूटान, बङ्गलादेशबाट पर्यटक आउने गर्दछन् । महोत्सवका अवसरमा भेला पारिने सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भूटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङ्गमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् ।
हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूको भनाइ छ ।


