इटहरी । बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्दै सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउन कोशी प्रदेश सरकारले डिजिटल प्रणालीको कार्यान्वयन सुरु गरेको छ ।
इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी र टोकन प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सोमबार आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले उक्त प्रणाली उद्घाटन गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले परम्परागत ढंगले लाइनमा बसेर सेवा लिनुपर्ने अवस्थाको अन्त्य गर्दै अब नागरिकलाई सहज र पारदर्शी सेवा दिने दिशामा प्रदेश सरकार अघि बढेको उल्लेख गर्नुभयो ।
कार्यालयका अनुसार सवारी सम्बन्धी राजस्व तथा अन्य शुल्क अब अनलाइनमार्फत भुक्तानी गर्न सकिनेछ । यसले सेवाग्राहीलाई बैंक धाउनुपर्ने झन्झट हटाउनुका साथै समय र श्रम दुवैको बचत गर्ने विश्वास गरिएको छ । त्यस्तै, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा लिने कार्यलयमा टोकन प्रणाली लागू गरिएसँगै सेवाग्राहीले आफ्नो पालोअनुसार व्यवस्थित रूपमा सेवा लिन सक्नेछन् । मन्त्रालयले यो प्रणाली कोशी प्रदेशमै पहिलो पटक इटहरीबाट सुरु गरिएको जनाएको छ ।
सफल कार्यान्वयनपछि प्रदेशका अन्य जिल्लामा रहेका यातायात कार्यालयहरूमा समेत विस्तार गर्ने योजना रहेको छ । दैनिक सयौँको संख्यामा सेवाग्राही आउने उक्त कार्यालयमा विगतमा लामो लाइन, अव्यवस्था र समय व्यवस्थापनको समस्या देखिँदै आएको थियो । नयाँ प्रणाली लागू भएसँगै भीडभाड नियन्त्रण हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व बढ्ने अपेक्षा गरिएको छ । यस पहललाई प्रदेश सरकारको डिजिटल रूपान्तरण अभियान अन्तर्गतको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित सुरु गरिएको यो प्रणालीले आगामी दिनमा सेवाग्राहीको अनुभवमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

