इटहरी । झापाको दमकमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरीका अनुसार आज बिहान करिब १०ः३० बजेको समयमा दमक नगरपालिका–१ हबल्दार चोकका ४३ वर्षीय बिरेन्द्र बस्नेतलाई कामको बहानामा बोलाएर कुटपिट गरिएको हो । बस्नेतलाई दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा आउन भनिएपछि उनी उक्त स्थानमा पुगेका थिए ।
त्यसक्रममा दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईसहित चार जनाले एक्कासी अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । घटनापछि खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्नमध्ये शिव साह र दुरेन राईलाई दमक–५ स्थित गोर्खा डिपार्टमेन्ट अगाडिबाट नियन्त्रणमा लिएको छ ।
अन्य संलग्न व्यक्तिहरू फरार रहेका छन् भने उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका बस्नेतको कान, मुख र घाँटीमा सामान्य चोट लागेको छ । उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान भइरहेको छ ।

