इटहरी । इटहरीमा अर्गानिक तथा रैथाने उत्पादनहरूको प्रवद्र्धन गर्ने उद्देश्यले “हिमाल पहाड अर्गानिक कोसेली घर” सञ्चालनमा आएको छ ।

इटहरी उपमहानगरपालिका–१ मा, सोल्टि वेस्टर्न होटलको ठीक अगाडि अवस्थित यस कोसेली घरले हिमाली तथा पहाडी भेगमा उत्पादित स्थानीय वस्तुहरू सहरमै उपलब्ध गराउँदै उपभोक्ताको ध्यान आकर्षित गर्न थालेको छ । सञ्चालक बिनोद कार्कीका अनुसार कोशी प्रदेशका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने बाली तथा अर्गानिक वस्तुहरूको बजारीकरण गर्ने उद्देश्यले यो पहल सुरु गरिएको हो । उहाँका अनुसार कोसेली घरमा विशेषगरी संखुवासभा जिल्ला  र भोजपुर जिल्ला लगायतका पहाडी जिल्लाहरूमा उत्पादित रैथाने बालीहरू पाइन्छन् ।

WhatsApp Image 2026-04-21 at 12.19.41 PM

हिमाल पहाड अर्गानिक कोसेली घरमा पानीमकै, सिस्नो पाउडर, हिमाली कोदोको पिठो, लोकल टिमुर, मोरिङ्गा पाउडर, कालो भटमास, कोहिलो भटमास, मासको दाल, फापरको पिठो जस्ता पोषणयुक्त तथा अर्गानिक उत्पादनहरू बिक्रीका लागि राखिएका छन् । “हिमाल पहाडको रैथाने बाली उत्पादनलाई कृषकको हित र प्रोत्साहनका लागि समर्पित” भन्ने नाराका साथ सञ्चालनमा आएको यस कोसेली घरमा कोशी प्रदेशका जडीबुटीहरू समेत उपलब्ध छन् ।

साथै, पहिचान झल्काउने तेह्रथुम जिल्लाकोे तेह्रथुमे ढाका, संखुवासभाको अल्लोबाट बनेका कपडा, भोजपुर र संखुवासभाका रुद्राक्षहरू पनि पाइन्छन् । व्यवसाय विस्तारको योजनाबारे जानकारी दिँदै कार्कीले खादबारीमा एक शाखा सञ्चालनमा आइसकेको र आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लासहित देशका विभिन्न भूभागमा विस्तार गर्ने लक्ष्य रहेको छ ।

स्थानीय उपभोक्ता राजन भट्टराईका अनुसार तीव्र सहरीकरणसँगै विषादीयुक्त खानपानका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन्, जसले अर्गानिक खाद्यवस्तुप्रतिको माग बढाएको छ । हाल “हिमाल पहाड अर्गानिक कोसेली घर” ले सहरमा बसोबास गर्ने उपभोक्तालाई गाउँघरको स्वादसँग जोड्दै स्वस्थ जीवनशैलीतर्फ प्रेरित गरिरहेको छ ।

स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको आयआर्जन वृद्धि र उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने यसको पहलले इटहरी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।