इटहरी। नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रष्टाचार र कुशासनको मुद्दामा पार्टीले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कायक्रममा उहाँले कांग्रेसमाथि नियोजित रूपमा लगाइएको ‘पुरानो, भ्रष्ट र अक्षम’ भन्ने भाष्य चिर्न अब सुशासनको मुद्दामा पार्टी निर्मम भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । समीक्षा कार्यक्रममा थापाले पार्टीको पहिचान धमिलिएकोमा चिन्ता व्यक्त गर्नुभयो । सत्ता गठबन्धनको राजनीतिका कारण जनताले कांग्रेस चिन्नै छोडेको तर्क गर्दै उहाँले १० लाख मतदाता टाढिनुको निर्मम समीक्षा हुनुपर्ने बताउनुभयो ।

पार्टीलाई आधुनिक बनाउन उहाँले आठ लाख क्रियाशील सदस्यका लागि ‘डिजिटल आइडेन्टिटी’ र अनलाइन नवीकरणको नयाँ अवधारणा अघि सार्नुभयो । कांग्रेस महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे तथा उपसभापति पुष्पा भुसालले पार्टीलाई फेरि ‘जरा’ सम्म पु¥याउनुपर्ने र १५ औँ महाधिवेशनमार्फत कांग्रेसलाई मुलुकको पहिलो शक्तिका रूपमा पुनस्र्थापित गर्ने दृढता व्यक्त गर्नुभयो । प्रदेश र स्थानीय सरकारमार्फत सुशासनको नमुना पेस गरेर जनताको मन जित्न थापाले कोशी प्रदेशका कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।